काठमाडौं : आज कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा। साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको रूपमा यो दिन उनको पूजा–आराधना गरिन्छ।
सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ।
साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई खुशी पार्न श्रीसुक्त पाठ गरिन्छ।
विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य र समृद्धि प्राप्त हुने पुराणहरूमा उल्लेख भएको धर्मशास्त्री तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए। पूजा मात्र नभई सत्य, दान, व्रत, तप, धर्म, पराक्रम र सरलता भएका व्यक्तिको घरमा लक्ष्मीले निवास गर्ने बताइन्छ।
आलस्य, निन्द्रा, असन्तोष, अधर्म आदि दुर्गुण भएका स्थान लक्ष्मीले छाड्ने पुराणहरूमा उल्लेख छ। यो औँसीलाई सुखरात्रि, दीपमालिका, दीपावली वा दीपोत्सव पनि चिनिन्छ।
यो दिनको उत्सवलाई ‘कौमुदी–महोत्सव’ वा ‘कौमोदिनी–महोत्सव’ पनि भनिन्छ। लक्ष्मीपूजा गरेपछि घरघर पुगी कन्याहरूले भैलो गीत गाउने चलन छ। घरपतिको भलो होस् भन्ने कामना गरेर भैलो गाउने चलन चलेको संस्कृतिविद्हरू बताउँछन्।
भैलिनीहरूले दिएको आशीर्वाद लाग्छ भन्ने मान्यता छ।भैलिनीहरूलाई सेलरोटी, मिठाइ, फलफूल र दक्षिणा दिइन्छ। लक्ष्मीको स्वरूप अाैँसीकै दिन गाईपूजा गर्ने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा मान्यता पाई प्रकाशित पात्रोहरूमा भने बिहीबार गाईपूजा उल्लेख छ।कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा उपयुक्त हुने समितिका अध्यक्ष गौतमले बताए।
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्