गोरखा : गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो ।
आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि तिथिअनुसार आजदेखि पूजा चलाउन मिल्ने भयो”, मूल पुजारी थापाले भने, “सधैँ जस्तै नियमितरुपमा गरिने नित्य पूजा गरेर मन्दिर खुला ग¥यौँ ।”
बाहिरको केही काम गर्न अझै बाँकी छ । मूल मन्दिरमा पूजा गर्दा अवरोध नहुने देखिएपछि पूजा शुरु गरिएको उनले भने । “पहिलेदेखि नै साइत हेरिराखेका थियौँ, दशकर्मको पूजा गरेर मन्दिर खुला गर्दा ढिलाइ हुने भएकाले क्षमापूजा गरी शुरु गरिएको हो”, मूल पुजारी थापाले भने।
मूल मन्दिरभित्र पूजा गर्न पाएपछि भक्तजन खुशी भएको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । “करीब ४३ महीनादेखि अस्थायी टहरमा पूजाआजा गर्दै आएका भक्तजनले आजदेखि मूल मन्दिरमा नै पूजाआजा गर्न पाएका छन्”, संयोजक श्रेष्ठले भने “मूल मन्दिरभित्र पूजा गर्न पाएपछि भक्तजनमा उत्साह थपिएको छ ।”


राष्ट्रिय पुरातत्व विभागबाट अनुमति लिएर पुरानै संरचनाअनुसार प्यागोडा शैलीमा मन्दिरको पुनःनिर्माण सम्पन्न भएको उनले बताए ।
“मन्दिर पुनःनिर्माणसँगै मन्दिरको आँगनमा ढुङ्गा छाप्ने काम पनि सकिएको छ, अब मन्दिरको पश्चिमपट्टिको भागमा टेवा पर्खाल लगाउने, मन्दिरमा आउने भक्तजनका लागि शौचालय निर्माण, परेवा बस्ने घर बनाउन भने बाँकी रहेको छ”, संयोजक श्रेष्ठले बताए ।
करीब रु १५ करोडको लागतमा मन्दिर निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । मन्दिर निर्माणका क्रममा गजुरदेखि मन्दिरको छानासम्म १८ किलो २०० ग्राम सुनको मलम्ब लगाइएको छ भने मूलद्वारमासमेत सुनको जलप लगाएर मन्दिरलाई झकिझकाउ पारिएको छ । भूकम्प गएको करीब तीन महीना अर्थात् असार महीनादेखि मन्दिर निर्माणको काम शुरु गरिएको थियो ।
मन्दिर निर्माणका लागि नेपाल सरकारले पुरातत्व विभागमार्फत रु चार करोड बराबरको सुन तथा काठ उपलब्ध गराएको थियो भने बाँकी रकम भक्तजनबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको हो ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्