काठमाडौ । युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन अनौपचारिक भ्रमणका क्रममा विभिन्न ६ मुलुकका राष्ट्र प्रमुख तथा उच्च पदाधिकारी नेपाल आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो काठमाडौं आइसकेका छन् ।
पोलीनेसिया मुलुक सामोआका राष्ट्रप्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको टापु मुलुक टुभालुका सरकार प्रमुख र माईक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरोन वका पनि काठमाडौं आउनेछन् ।
विभिन्न ४५ देशका १ हजार ५ सयको विदेशी पाहुना काठमाडौंमा भेला हुने सम्मेलनमा सहभागी हुन पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी पनि काठमाडौं आउनेछन् ।
कोलम्बियाका पूर्व राष्ट्रपति, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, ईण्डोनेसिया संसद प्रमुख, टोङ्गा सरकारका प्रवक्ता, फिजिका सभामुखसहित उच्च अधिकारी सम्मलेनमा सहभागी हुने छन् ।
विवादास्पद आयोजक
अनेक नाममा अभियानहरु चलाउँदै क्रिश्चियन धर्म प्रचार गर्ने युनिभर्सल पिस फेडेरेसन (युपिएफ) यो कार्यक्रमको आयोजक हो। यसको सहआयोजकमा नेपाल सरकारको समेत नाम थियो। तर, पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र जनदबावपछि सम्मेलनको सहआयोजकबाट सरकारको नाम हटाएको छ ।
युनिभर्सल पिस फेडेरेसन विवादास्पद आइएनजिओ हो। यसको मुख्यालय दक्षिण कोरियामा छ। यसका संस्थापक सन म्युङ मून र उनकी पत्नी हाक जा हान मुन हुन्। सन् २००५ मा यो संस्था उनीहरुले स्थापना गरेको सोही संस्थाको वेबसाइटमा उल्लेख छ। यो संस्था क्रिश्चियन धर्म प्रचारका सम्बन्धमा कट्टर रुपमा लागेको छ ।

मुनले कोरियाली युद्वमा शान्ति स्थापना गर्न भुमिका खेलेको कुरा मात्रै व्याख्या गरेर उनको क्रिस्चियन मिसनको पक्ष भने लुकाउने गरिएको छ । शान्ति स्थापनाका असली मातापिता भनिने मुनको पदचाप पच्छ्याउने युपिएफले हरेक कार्यक्रम गर्दा उनै मुन दम्पत्तिको फोटो राखेर पुजा गर्ने गर्छन् ।
तर, यसरी सर्वपक्षिय बनाउने व्याख्या गरिएका मुन भने कोरियाली युनिफिकेसन चर्चका संस्थापक हुन् । मुनले सन् १९५४ मा कोरियाको बुशानमा युनिफिकेसन चर्च खोलेका थिए । जसको ब्याख्या गर्दा नै ‘विश्व क्रिस्चियन एकताको लागी पवित्र आध्यात्मिक संघ’ भनिएको छ ।
‘जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न मलाई खटाएको हो,’ यसका संस्थापकको दावी थियो । उनले आफ्ना अनुयायीहरुलाई समेत अनौठा खालका निर्देशनहरु दिने गर्दथे । युवायुवतीहरुले बिहे गर्नका लागि उनैले जोडी चयन गरिदिने र तीनदिनसम्म उनले तोकेको स्थानमा तोकेको आशनमा यौनसम्पर्क गर्नुपर्ने जस्ता निर्देशनहरु दिने गरेका कारण विवादास्पद छ ।
नेपाली युवकयुवतीहरूलाई पनि विदेशी युवक युवतीसँग र विदेशी युवक–युवतीलाई नेपाली युवक–युवतीसँग गोला प्रथाद्वारा दाम्पत्य जीवनमा बाँध्ने गरेको छ । यो इसाई धर्मावलम्बीहरूको यस्तो अभियान हो, जसले अन्तरदेशीय विवाह गर्नुपर्ने मान्यता राख्छ । परिवार नियोजन गर्नु यसका अनुयायीहरूका लागि अपराध हो ।
यही संस्थाको नेपाल शाखा युनिभर्सल पिस फेडरेसनका नेपालका अध्यक्ष पूर्व मन्त्री एकनाथ ढकाल हुन्, जो नेपाल परिवार दलका अध्यक्ष पनि थिए। उनको पार्टी चुनावअघि नेकपा एमालेमा विलय भएको थियो। एमाले माओवादीसँग एकीकृत भएपछि उनी पनि अहिले सत्तारुढ दुई तिहाईको नेकपा सरकारका नेता हुन्।
त्यसैले आयोजक कमिटीको नेतृत्व पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्हालिरहेका छन्।
जोरबिजोर लागू हुने
राजधानीको सडकमा चल्ने सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागू भएको छ । आगामी शनिबारबाट सोमबारसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोर–बिजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सम्मेलनमा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाका लागि काठमाडौंको सवारी व्यवस्थापन गर्न लागिएको हो ।
आज र शनिबार बिजोर तथा भोलि र आइतबार जोर नम्बर प्लेटका सवारी साधन चल्न पाउने छन् । अत्यावश्यक सेवा, मिडिया तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्