कहाँबाट आउँछन् यी हतियार ?

कहाँबाट आउँछन् यी हतियार ?

कपिलवस्तु । अवैध साना हतियार सुरक्षा चुनौती बनेका छन् ।
विभिन्न हत्या, लुटपाट लगायतका अपराधिक क्रियाकलापमा साना हतियारको प्रयोग बढदै गएपछि सुरक्षा निकाय चिन्तामा छन् ।

कृष्णनगरका व्यापारी कौशरअली खाँनको गतवर्ष गोली हानी हत्या भयो, जसमा साना हतियार प्रयोग भएको थियो । स्थानीय पिन्टु मुसलमानले २०७३ असोज २६ मा व्यक्तिगत रिसिइबीका कारण कौशर माथि गोली प्रहार गरे ।

उनले खाँको हत्या गरि नेपालमै हतियार फालेर भारत तर्फ भागेको प्रहरीले जनाएको छ ।
गत चैतमा कृष्णनगर ४ लक्ष्मीनगरका छोटु यादवलाई अवैध चाईनिज पेस्तोल र ७ राउण्ड गोली सहित प्रहरीले पक्राउ गर्यो ।

बन्दुक देखाउदै गाउँलेलाई तर्साएको उजुरी पश्चात प्रहरीले घेरा हाली पक्राउ गर्यो । साउन ७ गते कटुवा पेस्तोल देखाउदै मोटरसाइकल लुट्न खोज्ने जहदीका मन्नु भन्ने मतेश्वर अहिरलाई प्रहरीले पक्राउ ग¥यो ।

उनीबाट पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भयो । हाल तीनै जना थुनामा छन् ।

यी त साना हतियारका कारण भएका अपराधका प्रतिनिधिमूलक घटना हुन् ।

दक्षिणी सीमावर्ती क्षेत्रमा बढ्दो अवैध हतियारको कारण अपराध बढ्दो छ । सामान्य घटनामा पनि हतियार प्रर्दशन गरिनु र आक्रोशमा प्रयोग गरिनुले सीमावर्ती क्षेत्रमा अपराध बढिरहेको छ ।

खुला सीमाना र सस्तोमा पाइने अवैध हतियारले जिल्लाको शान्ति सुरक्षामा समेत चुनौती थपेको छ । भारतीय बजारहरुमा अवैध रुपमा बिक्री हुने विदेशी पेस्तोल, माउजर, कटुवा बन्दुक र भरुवा बन्दुकहरु विभिन्न चोरबाटो हुदै सीमावर्ती नेपाली बजारहरुमा भित्रिरहेका छन् ।

जसको अवैध प्रयोगले हत्या, अपहरण, लुटपाटका घटनामा वृद्धि भएका छन् । गत मंसिर ७ गते शुद्धोधन गाउँपालिकाको मोतिभारीमा भएको घटना पनि अवधै हतियारकै कारणले भएको हो ।

अवैध हतियार बोकेर हिड्ने र सामान्य झगडा हुदा प्रर्दशन गरि धम्क्याउने गरेका स्थानीय बन्टी भनिने अजित पाण्डेले नेकपाका युवा नेता दीपेन्द्र चौधरी माथि गोली प्रहार गरे । ६ राउण्ड गोली प्रहार पछि चौधरीको मृत्यु भयो र सो क्षेत्र आक्रान्त बन्यो ।

२०७४ फागुन ६ गते पेस्तोल देखाएर केहि व्यक्तिले मायादेवी गाउँपालिका पिपराबाट वडा अध्यक्ष फत्ते मोहम्मदको ४ बर्षिय छोराको अपहरण गरियो ।

२ दिन पछि उनको शव घर अगाडीको पोखरीमा फ्याकियो । सीमावर्ती क्षेत्रमा बढ्दो अपराधको मुख्य कारण यहा सहजै भारतबाट ल्याएर राखिएका अवैध हतियार हुन् ।

सानो झै–झगडामा समेत अहिले अत्याधिक मात्रामा हतियार प्रर्दशन हुने गरेको छ । नेपालको सीमावर्ती क्षेत्रको सुरक्षामा गम्भीर चुनौती बन्दै गएको अवैध हतियार नियन्त्रण प्रति सुरक्षाकर्मी गम्भीर देखिदैनन् ।

सुरक्षा समितिले जिल्लाको सुरक्षा स्थिति बलियो बनाउन विभिन्न योजना बनाएपनि भारत हुदै भित्रिएका अवैध हतियारको बारेमा कुनै तथ्यांक वा जानकारी लिदैनन् ।

२०७४ सालमा भएका तीन तहका निर्वाचनमा सुरक्षाको कारण देखाउदै प्रहरीले लाइसेन्स भएका ३७ र नभएका केहि हतियार नियन्त्रणमा लिएपनि अझै जिल्लामा सयौको संख्यामा हतियार रहेको अनुमान छ ।

विशेष गरि कृष्णनगर, भिल्मी, मर्यादपुर, रंगपुर, पिपरा, चाकरचौडा, हथिहवा, भैसकुण्डा र लबनी क्षेत्रमा अधिकांशले हतियार राखेको श्रोतको दाबी छ ।

‘अधिकांश संग अत्याधुनिक अमेरिकन, चाइनिज र इटालियन, पेस्तोल र माउजरहरु छन् । केहि संग कटुवा पेस्तोल र भरुवा बन्दुक छन्’–श्रोतले भन्यो–“मागेर दिदैनन, छापा हान्न प्रहरीको आट छैन” ।

अवैध हतियार बेच्ने गिरोहले ५ हजार नेपाली देखि ५० हजार सम्ममा बन्दुक नेपालमै ल्याइ बेच्ने गरेको बताइन्छ् । उनीहरुले बुटवल, दाङ्ग, प्यूठान, रोल्पा र पाल्पा सम्म हतियार पुरयाउने गरेका छन् ।

कपिलवस्तु प्रहरीले जिल्लामा अवैध हतियार रहेको स्वीकारेको छ । प्रहरी प्रवक्ता डिएसपी रवि रावलले अवैध हतियारका कारण दक्षिणी भेगमा केही सुरक्षा चुनौती थपिएको बताउदै स्थानीयको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

‘हामीलाई सुचना दिनुस, नियन्त्रण गर्छौ, पक्राउ गर्छौ प्रहरीको मात्र श्रोतले सबै नियन्त्रण गर्न सम्भव छैन’ उनले भने ।

भारतसंग सीमाना जोडिएको ९२ किमी लामो सीमाना निगरानी गर्नु असम्भव रहेको भन्दै सीमा अपराध नियन्त्रणमा सबैको चासो आवश्यक भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले सीमाबाट भित्रने अवैध हतियार नियन्त्रणका लागि भारतीय पक्ष संग परामर्श तथा सहयोग मागिने बताए । ‘अवैध हतियारकै कारण सुरक्षा व्यवस्थामा बाधा उत्पन्न भएको छ, आगामी संयुक्त बैठकमा यो मुद्धा उठाउछौ–उनले भने ।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij