फड्को मार्दैछ बौद्ध विश्वविद्यालय

फड्को मार्दैछ बौद्ध विश्वविद्यालय

बुटवल । बौद्ध धर्म र दर्शनको अध्ययन र अनुसन्धान गर्ने उद्धेश्य सहित स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय १४ वर्षमा प्रवेश गरेको छ । स्थापनाको आठ वर्षसम्म गुमनाम जस्तै रहेको विश्वविद्यालयले केन्द्रीय कार्यालय लुम्बिनीमा पहिलो पटक स्थापना दिवस भव्य रुपमा मनाउदैछ ।

चार वर्षअघिदेखि विश्वविद्यालयले लुम्बिनीमा कक्षा प्रारम्भ गरेको थियो । त्यसअघि काठमाण्डौंमै सीमित रहेको विश्वविद्यालयका शैक्षिक गतिबिधि शुन्य प्रायः थिए । मुलुकमा रहेका विश्वविद्यालयमध्ये यो निकै फरक प्रकृतिको हो ।

विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको बिश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्ध प्रतिको चासोलाई बढाएको छ । स्थापनाको ८ वर्षसम्म खासै चर्चामा नआएको बौद्ध बिश्वबिद्यालयले अहिले भने गति लिएको छ । लुम्बिनीस्थित केन्द्रिय क्याम्पसमा पहिलो वर्षको कक्षामा ३५ जना बिद्यार्थी भर्ना भएका थिए । चार वर्षमा स्नातक तहमा मात्रै करिव दुई सय विद्यार्थीले अध्ययन गरेका छन् ।

‘कक्षा शुरु भएयता मात्रै विश्वविद्यालयको चर्चा शुरु भयो, यसप्रति अझै पनि भ्रम छन्, विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार तिलक आचार्य भन्छन–‘भ्रम चिर्दै विश्वविद्यालयलाई अघि बढाउनु अहिलेको चुनौति हो ।’

श्रीलंका, जापान, भारत, दक्षिण कोरिया, भियतनाम, थाइल्याण्ड, कम्बोडियाजस्ता केही देशहरुमा बौद्ध दर्शन अध्ययन गराउने बिश्वविद्यालयहरु प्रसस्त मात्रामा खुलेका छन् । बौद्ध विश्वविद्यालयहरु जापानमा १४, श्रीलंकामा ४, दक्षिण कोरिया र कम्बोडियामा ३-३, भियतनाम र थाइल्याण्डमा २÷२ र भारतमा १ वटा स्थापना भएका छन् । त्यही सूचिमा नेपालको बौद्ध विश्वविद्यालय पनि थपिएको छ ।

तर नेपालमा एक मात्र रहेको विश्वविद्यालय पनि स्थापनाको ८ वर्षसम्म गुमनाम भयो । ‘राज्यले चासो नदिएका कारण पनि यस्तो भएको हो, आचार्य भन्छन–‘अव यसले गति लिन्छ ।’ उनका अनुसार विश्वविद्यालयलाई अझै पनि समस्याले जकडिएको छ । ‘मुख्य समस्या भनेको जग्गा अभाव हो, उनी भन्छन ।

विश्वविद्यालयलाई भौतिक संरचनामा सबल बनाउने हो भने लुम्बिनीमा बौद्ध दर्शन पढ्ने विद्यार्थीको अभाव हुने छैन । विश्वका अनेकौ देशहरुबाट लुम्बिनी पढ्न आउने विद्यार्थीको संख्या थामिनसक्नु हुनेछ, डीन माणिकरत्न शाक्यले भने ।

सयौ बिगाहा जग्गामा हुनुपर्ने विश्वविद्यालय अहिले ८-९ बिगाहा जमिनमा सीमित छ । रुपन्देहीको देबदहमा जग्गा प्राप्तिका लागि विश्वविद्यालयले प्रक्रिया थालेको छ । यसप्रति राज्यको उचित चासो नगएकै कारण जग्गाका लागि विश्वविद्यालयले अगाडि बढाएको फाइल भुमिसुधारको दराजमा थन्किएको छ । ‘हामीले काम गर्न खोजेका छौं तर सरकारी रबैया नै ठिक भएन–रजिष्टार आचार्यले भने ।

विश्वविद्यालयले लुम्बिनी बिकास कोष भित्रको जग्गामा केही संरचना बनाएको छ । त्यस्तै खडैयामा पनि संरचना तयार भएका छन् । ती नवनिर्मित भवनको आजै राष्ट्रपतिबाट उद्घाटन हुनेछन् ।

विश्वविद्यालयमा सम्भावना धेरै, लगानी थोरै छ । जस्ले गर्दा जति बिकास हुनु पर्ने हो त्यति हुन सकेको छैन । ‘हामीले कसैसंग पैसा चाहियो भनेका छैनौं, कानुनका केही बुदा परिवर्तन र जग्गा मात्रै खोजेको हो, तर पाइएको छैन, विश्वविद्यालयका रजिष्टार आचार्य भन्छन । विश्वविद्यालयले अहिले छात्रावास सहित अनुसन्धान कक्ष बनाएको छ ।

राज्यले प्रसस्त जग्गा उपलब्ध गराउन सकेमात्रै पनि विश्वविद्यालयले बौद्ध दर्शनमा ठूलै फड्को मार्ने सभ्भावना रहेको छ । क्याम्पस सञ्चालनको चार वर्षमै देखिएको अर्कषणले सम्भावनालाई अझ कसिलो बनाएको छ । लुम्बिनी स्थित केन्द्रिय क्याम्पसका पूर्व प्रमुख इन्द्र काफ्लेले विद्यार्थीको भर्नाले उत्साह थपेको बताउछन । ‘शुरुका क्याम्पस २० जना विद्यार्थी कसरी पु¥याउने भन्ने कुरामा घोत्लिनु परेको थियो । तर अपेक्षा भन्दा बढी विद्यार्थी बौद्ध दर्शनको अध्ययनमा रुचिका साथ आउनुभयो, काफ्ले भने ।

तर अहिले पनि क्याम्पसमा पढाउने सिमित जनशक्ति छ । आंशिक प्राध्यापकको भरमा कक्षा चलेका छन् । स्नातक तहमा कक्षा थपिएका छन् । भाषाका कक्षाहरु विश्वविद्यालयमा नियमित भएका छन् । दक्ष जनशक्ति उत्पादनमा जोड दिएको विश्वविद्यालयले ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट समेत शुरु गरेको छ । बुटवल र लुम्बिनीमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीका निकै आकर्षण देखिएको केन्द्रीय क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बताए ।

‘बिबिटिटिएम नया कार्यक्रम हो, पर्यटन क्षेत्रमा खड्किरहेको जनशक्ति उत्पादनमा ठूलो टेवा पुग्ग्छ, उनले भने । केन्द्रीय क्याम्पसमा पढ्ने विद्यार्थीका लागि रुपन्देहीका ६ वटा स्थानीय तहले छात्रबृत्ति दिएका छन् । यो जिल्लामै नौलो अभ्यास हो ।

विश्वविद्यालयमा अहिले पिएचडी, बुद्ध दर्शनमा स्नाकोत्तर, स्नातक तह र प्रमाणपत्र तहमा भाषा कक्षा सञ्चालनमा छन् । गएको वर्षमात्रै विश्वविद्यालयले पहिलो पटक दिक्षान्त कार्यक्रम गरी दिक्षित गरेको थियो । विश्वविद्यालयलाई बहुविषयमा लैजाने कुरामा छलफल शुरु भएको छ । बौद्ध दर्शनसंगै जोडेर अन्य विषय अध्ययन गराउने योजना बनाइएको छ । विश्वविद्यालयको सम्बन्धनमा काठमाण्डौंमा बौद्ध दर्शन अध्ययन भइराखेको छ ।

स्थापना दिवसमा राष्ट्रपति
लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ स्थापना दिवसका अवसरमा लुम्विनीमा हुने बिशेष कार्यक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार बिहान लुम्विनी आउन लाग्नु भएको हो ।

स्थापना दिवसका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले बिश्व बिद्यालयका नवनिर्मित ७ वटा भवनको उदघाटन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा बौद्धधर्मको प्रचार प्रसारमा योगदान पुर्याएका बौद्ध धर्मका विद्धान र बिश्वबिद्यालयका पुर्वपदाधिकारीहरुलाई सम्मान गर्ने बिश्व बिद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलक आचार्यले जानकारी दिए ।

स्थापन दिवसका अवसरमा हुने बिशेष समारोहमा प्रदेश नम्वर ५ का प्रमुख उमाकान्त झा, संघिय सरकारका शिक्षामन्त्रि गिरीराजमणि पोखरेल, सस्कृति मन्त्रि रबिन्द्र अधिकारी, प्रदेश नम्वर ३ का सभामुख सानु श्रेष्ठ, प्रदेश नम्वर ५ का मन्त्रिहरु, रुपन्देही तथा आसपासका जिल्लाबाट प्रतिनिधि सभा र राष्टिय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरु, प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरु सहित बौद्ध धर्म र शिक्षाप्रति रुचि राख्ने बिशिष्ट व्यक्तिहरुको सहभागिता रहने पनि आचार्यले जानकारी दिए।

बिश्व बिद्यालयले लुम्विनी बिकास कोष क्षेत्र परिसर भित्र ४ वटा र लुम्विनी कै खडैयामा ३ वटा भवन निर्माण गरेको छ । तिनै भवनको राष्टपति भण्डारीले उदघाटन गर्नु हुने छ । त्यस्तै भिक्षु ज्ञानपुर्णिक महास्थबिर, भिक्षुणी धम्मावती, श्रीधर राणा रिम्पोक्षेलाई सम्मान गरीने छ ।

त्यस्तै बिश्व बिद्यालयका पुर्व उपकुलपति प्रा.डा. तुल्सिराम बैद्य, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा. नरेशमान बज्राचार्य तथा पुर्व रजिष्टार डा. खडगमान श्रेष्ठ र डा. पिताम्वरलाल यादवलाई बिशेष सम्मान गरिने छ । बौद्ध विश्वविद्यालय परिसरमा हुने कार्यक्रममा सहभागि हुन राष्ट्रपति ११ बजे लुम्बिनी आउने बताइएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij