पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई आफ्नो जिम्मामा दिन भनी टर्कीले गरेको माग साउदी अरेबियाले अस्वीकार गरेको छ ।
साउदी अरेबियाका विदेश मन्त्रीले कुनै पनि अवस्थामा आफ्नो देशका नागरिकलाई अर्को कुनै देशको जिम्मामा नदिइने बताएका हुन् ।
साउदी अरेबियाका विदेश मन्त्री अदिल अल–जुबेरले भनेका छन्, ‘हाम्रा नागरिक कुनै पनि हालतमा अरुलाई सुम्पिने छैनौँ ।’
एक हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले पत्रकार खाशोग्गीको हत्यामा संलग्नहरु आफ्नो देशको जिम्मामा दिन माग गरेका थिए । यस्तै गएको बुधबार टर्कीको अदालतले हत्याको आरोप लागेकाहरुलाई पक्राउ गर्न आदेश दिएको थियो ।
साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको छ । अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो ।
टर्कीको अदालतको आदेशमा प्रहरीले पक्राउ पूर्जी जारी गर्नेमा टर्कीका लागि साउदी अरेबियाका पूर्व कुटनीतिक प्रमुख अहमद अल–असिरी र राजपरिवारका पूर्व साल्लाहकार साउद अल–कतानी रहेका छन्।
टर्कीले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएका जानकारीहरु आफूहरुसँग बाँड्दाको प्रक्रिया उचित नरहेको पनि साउदी अरेबियाका विदेश मन्त्रीले बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘हामीले अदालतमा प्रमाणको रुपमा प्रस्तुत गर्नका लागि हामीले प्रमाण मागेका थियौँ, तर ती प्रमाणहरु जसरी दिइनु पर्ने थियो त्यसरी दिइएन ।’
टर्कीका राष्ट्रपति एर्डोगानले पत्रकार खाशोग्गीको हत्या साउदी सरकारको उच्चतहबाट आएको आदेशका आधारमा भएको बताएका छन् । तर उनले साउदी राज परिवारमाथि कुनै किसिमको नोक्सानी गर्ने आफ्नो उद्देश्य नरहेको पनि जोड दिएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्