बुटवल । बुटवलमा लुम्बिनी एक्स्पो शुरु भएको छ । बुटवल मण्डपमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक्स्पोको उद्घाटन गरे ।
उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवबाट उद्यमशीलताको विकास गर्नुपर्ने बताए । उनले मेला महोत्सव उपभोक्ताको रकम विदेश पठाउने बाटो नभई स्थानीयलाई नै प्रोत्साहन गर्ने गरी आयोजना हुनुपर्ने उल्लेख गरे ।
लुम्बिनी एक्स्पोमा लुम्बिनी, जितगढी र सगरमाथाको प्रतिमूर्ति बनाएर पर्यटन प्रवद्र्धन गर्न खोजेको भन्दै प्रशंसा गरे ।
उनले मुलुकलाई समृद्ध बनाउनका लागि उद्योगी, व्यवसायीहरुले पनि नयाँ र उत्पादनमुलक काममा जोड दिनुपर्ने बताए ।
नेपालका लागि श्रीलंकन राजदुत स्वर्ण परेराले नेपालको लुम्बिनी र श्रीलंकाबीचको सम्बन्ध सुमधुर रहेको भन्दै आफुहरुले श्रद्धापूर्वक लुम्बिनी भ्रमण गर्ने गरेको बताइन् । उनले आगामी दिनमा सम्बन्ध अरु सुधार हुने भन्दै बुद्ध जन्मेको भूमि लुम्बिनी क्षेत्रमा आउन पाएको खुशी व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै नेकपा नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले बुटवल समृद्ध बन्दै गएको र यसले मुलुककै अगुवाई गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बुटवलमा आयोजना भएको मेलाले यस क्षेत्रको व्यवसायिक उन्नतिका लागि सहयोग पु¥याउने बताए ।
कार्यक्रममा व्यापार संघका संस्थापक अध्यक्ष मोती ज्ञवाली, नेपाली काँग्रेसका नेता ज्योति भण्डारी, राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष यमलाल लोहनी लगायतले बोलेका थिए ।
मेलामा ६ सय स्टल सहभागी भएको मेला पुस १८ गतेसम्म जारी रहनेछ । बुटवलको मेलालाई विशेष महोत्वका साथ हेरिने भएकाले एक्स्पोमा दर्शकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।
मेलामा १० लाख दर्शक प्रवेश गर्ने र ४० करोडको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा करिव ६० वटा चीन, भारत, जापाान, बंगलादेशका स्टल रहने छन् । स्वदेशी उत्पादनसहित कृषि तथा पर्यटनलाई विशेष आकर्षणका रूपमा राखिएको छ ।
लुम्बिनी एक्पोको टिकटबाट दश रूपैयाँ पर्यटन विकासमा खर्च गरिने छ । मेला प्रवेशमा लाग्ने टिकटबाट यो रकम छुट्याएको हो । पर्यटन विकासमा ठोस काम गर्नका लागि धेरै रकम विनियोजन गरिएको व्यापार संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले बताए ।
मेलामा दश लाख दर्शक आउने अपेक्षा गरिएको छ । त्यति नै संख्यामा दर्शक आए एउटै मेलाबाट लाखौं रकम संकलन हुनेछ । बुटवल आसपासकै क्षेत्रको पर्यटकीय क्षेत्रको विकास गर्ने योजना अघि सारिएको छ । नुवाकोट र मणिमुकुन्द सेन उद्यानमा व्यापार संघले जोड दिएको छ ।
संयोजक श्रेष्ठले मेलालाई अघिल्ला वर्षहरूमा भन्दा पृथक बनाउने सोंचका साथ मेलालाई फरक पन दिइएको बताए । संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको हो ।
एक्स्पो स्थलमा १२ वटा पेभेलियन निर्माण गरिएको र प्रत्येक पेभेलियनमा फरक फरक प्रकृतिका स्टलहरू सहभागी गराइएको अध्यक्ष श्रेष्ठले बताए ।
कृषिको व्यवसायीकरण तथा आधुनिकरण, स्थानीय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक ऊर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई समावेश गरिने आयोजकहरूले बताएका छन् ।
मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय मूल आयोजक समिति, स्टेरिङ समिति, १०१ सदस्यीय विशेष सल्लाहकार समिति, ५०१ सदस्यीय सल्लाहकार समिति, पूर्व अध्यक्षहरू रहेको मूल्यांकन समिति, ४३ वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।
एक्स्पोमा उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्रसँगै सांस्कृतिक कार्यक्रम अन्तर्गत लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, डान्स आइडल प्रतियोगिता सञ्चालन, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
यसै क्रममा सांस्कृतिक कार्यक्रमअन्तर्गत समावेश डान्स आइडल प्रतियोगिताको प्रथम पुरस्कार राशि १ लाख १ हजार, दोस्रो पुरस्कार ७५ हजार तृतीय पुरस्कार ५० हजार रहेको सांस्कृतिक समितिका संयोजक ऋषि पाण्डेले बताए ।
यसैगरी लोक नृत्य प्रतियोगिताको प्रथम पुरस्कार राशि २० हजार, दोस्रो पुरस्कार १५ हजार, तेस्रो पुरस्कार १० हजार तथा सान्त्वना ५ हजार तथा वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार राशि १० हजार, दोस्रो पुरस्कार ७ हजार ५ सय, तेस्रो पुरस्कार ५ हजार तथा सान्त्वना २ हजार ५ सय रहेको छ ।
प्रकाशित मिति : बिहिबार, पुष ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्