कपिलवस्तु । क्रकुछन्द बुद्धको जन्मथलोका रुपमा कपिलवस्तु नगरपालिका ५ मा रहेको गोटहीवामा क्षतिपुर्ति लिएको ६ महिना बिति सक्दा पनि अझै सम्म अतिक्रण हटेको छैन् ।
पुरातत्व बिभागको जग्गामा बर्षोदेखि ३४ परिवारले घर बनाई अतिक्रमण गरेर बसेका थिए । तर पुरातात्विक स्थल गोटिहवाको जग्गा अतिक्रमण गरेर बसेकाले क्षतिपुर्ती बुझेर पनि ठाउँ छाडेका छैनन् ।
प्रशासन, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले गत असारमै हटाउने निर्णय गरको थियो । उनीहरु अझ सम्म अटेर गरेका छन् ।
गोटिहवाको पुरातात्विक क्षेत्रको जग्गा संरक्षण नगर्दा २०-२५ वर्षदेखि अतिक्रमण बढेको थियो । स्थानीयले पुरातत्व विभागको नाममा रहेको २ विगहा १९ धुर बढी जग्गा अतिक्रमण गरेका थिए ।
पुरातात्विक स्थल अशोक स्तम्ब रहेको १७ कठ्ठामात्र तारबार गरेर संरक्षण गरिएको थियो । स्थानीय ३४ जना पक्की, टिन र फुसको घर बनाएर र खेत खलोको रुपमा उपयोग गरेका थिए ।
लुम्बिनी विकास कोषले गोटिहवालाई बौद्धधर्मावलम्बीको आस्थाको केन्द्र र पर्यटकीय गन्तब्य बनाउन अतिक्रमित जग्गा खाली गराउन लागेको हो ।
कानुनी रुपमा सरकारकै जग्गा भए पनि गरिव विपन्न रहेकाले कोषले घरको क्षतिपुर्ति दिईएको जनाएको छ । निर्माण गरिएको घर टहराको मुल्र्याकन गरी उनीहरुलाई क्षतिपुर्ति उपलब्ध गराईएको कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए ।
०७३ भाद्रदेखि जग्गा लिनका लागि कोषले थालनी सुरु गरेको हो । त्यसपछि जग्गा प्राप्ति ऐन ०३४ अनुसार प्रजिअको संयोजकत्वको रहेको समितिको बैठक बसेर प्रक्रिया अघि बढाईएको थियो ।
पटक पटक बैठक बस्ने र सुचना निकाल्न काम भएको थियो ।
गत बैशाखमा २८ जनाले क्षतिपुर्ति बुझेका थिए । चित्त नबुझेको भन्दै ६ जनाले रकम लिन मानेनन् । उनीहरुले पनि जेठमा बुझे । सबैले कागज गरेर असार सम्म हटने सहमति गरेपनि ६ महिना बित्दा पनि अझै हटेका छैनन् ।
लुम्बिनी विकास कोषले घर टहरा वापत ३ करोड ६ लाख क्षतिपुर्ति प्रदान गरेकोछ । ‘क्षतिपुर्ति बुझेपछि हामीले हटाउन थालेका थियौं’ कोषका योजना प्रमुख सरोज भट्टराईले भने,–‘कपिलवस्तु नगरपालिकाले अग्रसरता लिएर हटाउने भनेपछि पछि हट्यौं ।’
तर अहिले नगरपालिका मौन बस्दा अतिक्रमण हट्न नसकेको उनले बताए । ‘कपिलवस्तु नगरपालिकाले घर टहरा हटाउदा त्यसबाट निस्केका सामग्री जस्को हो उसैलाई दिन आग्रह ग¥यौं, त्यो पनि मान्यौ–उनले भने–तर रकम बुझी सक्दा पनि स्थानीय चुपचाप बसेका छन् । हट्ने तर्फ अग्रसरता देखाएका छैनन् ।’
गोटिहवा अशोक स्तम्भदेखि थोरै पुर्वदेखि दक्षिणतिरका पुरातात्विक जग्गामा घर बनाईएका थिए । स्थानीयले घर बनाउदा प्राचीन कुवा र भग्नावषेश लगायतका संरचना अतिक्रमणको चपेटामा परेको स्थानीय बुद्धमार्गी उपासक तेजकुमार बौद्धाचार्यले बताए ।
‘त्यसलाई खाली गर्नु राम्रो हो’ उनले भने, ‘त्यो जग्गालाई छिटो संरक्षण गर्नु पर्छ ।’ गोटिहवाको संरक्षण र विकासका लागि अमेरिकी दुतावासले रुचि देखाएको कोष सदस्य राजेश ज्ञवालीले बताए ।
तर अतिक्रमित जग्गा खाली गराउन नसक्दा आउन लागेको योजना पनि फर्कने अवस्थामा छ । ‘नयाँ आएका राजदुतले आफ्नो कोष मार्फत केही गर्न खोजेको जानकारी छ’ उनले भने, ‘तर कपिलवस्तु नगरपालिकाले काम नगर्दा समस्या भईरहेको छ ।’
विभिन्न अध्येताहरुले गोटिहवालाई क्रकुच्छन्द बुद्धले ज्ञान प्राप्त गरेपछि पिता–पुत्रले भेटघाट गरेको स्थलका रूपमा चित्रित गरेका छन् ।
गोटिहवाको अशोक स्तम्भको उचाइ १० फिट र परिधि ८ फिट ६ इन्च रहेको छ । संरक्षण र विकासको अभावमा गोटिहवा ओझेलमा परेको छ ।
अतिक्रमण हटाउने प्रयास गरिरहेको कपिलवस्तु नगरपालिकाका किरण सिंहले बताए । यसकालागि वार्ड अध्यक्ष दिरेप चौधरीलाई आग्रह गरेका छा–उनले भने–छिट्टै नतिजा आउछ ।
२ लाख ७९ हजार क्षतिपुर्ति बुझेका रामदास पासीले कोषले न्युन रकम दिएकोले आफुले अझै त्यही जग्गामा बसेको बताए । स्थानीय बृद्ध राजाराम कलवारले ३४ जना मध्ये आधाले मात्र जग्गा छाडेको बताए ।
प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्