बुटवल । अंग्रेज सेनालाई नेपाली सेनाले हराएको ऐतिहासिक थलो जितगढी किल्ला क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाउन थालेको छ ।
गुरुयोजनाको प्रारम्भिक खाका माथि उपमहानगरपालिकाले मंगलबार सरोकारवालासँग छलफल गर्दै सुझाव संकलन गरेको छ । बुटवलले जितगढीमा विशेष गुरुयोजना बनाइरहेको छ ।
केही दिन अघि मात्रै त्यहाँ देशकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्णकदको शालिक निर्माणका लागि शिलन्यास गरिएको छ ।

बुद्धाबलीको क्षेत्रका रुपमा रहेको जितगढीलाई मणिमुकुन्दसेन, नुवाकोट गढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर विशेष गुरुयोजना बनाइरहेको उल्लेख गर्दै नगर प्रमुख शिवराज सुवेदीले सहकार्यका लागि आग्रह गरे ।
उनले राष्ट्रिय स्वाभिमानको जिवित इतिहासका रुपमा रहेको जितगढी क्षेत्रलाई उजागार गर्दै स्थानीय सबै नागरिकहरुले अपनत्व गर्ने गरी नयाँ योजना ल्याइने पनि बताए ।
जितगढी सम्पदा राष्ट्रियताको पहिचान तथा प्रतिक र बुटवलको शानका रुपमा रहेको भन्दै छलफलमा सहभागी सरोकारवालाले जितगढी क्षेत्रलाई साँघुरो घेरामा नखुच्याउन सुझाव दिएका छन् ।
सहभागी विज्ञ तथा सरोकारवालाहरुले ऐतिहासिक सम्पदालाई त्यसले चर्चेको जमिन र सम्बन्धित अरु क्षेत्रहरुलाई पनि गुरुयोजनामा समेट्न सुझाव दिए ।
कार्यक्रममा इतिहासविद्हरु, संस्कृतिविद्हरु, पुरातत्वका ज्ञाताहरु, नागरिक अगुवाहरु र त्यस परिसरका स्थानीय नागरिकहरुको समेत सहभागिता थियो ।
कार्यक्रममा सहभागी सबैले जितगढी सम्पदाको सम्बन्ध लुम्बिनी, नुवाकोट, स्युराज र देशका अरु गढीहरुसंग पनि रहेको भन्दै सबैलाई समेट्दा राम्रो पर्यटकीय गन्तव्य बन्ने सुझाव दिए ।
लुम्बिनीलाई केन्द्रमा राखेर जितगढीको विकास गर्नुपर्ने र जितगढी गुरुयोजनामा वरपरका अरु क्षेत्रहरुलाई पनि जोड्नुपर्ने उनहरुको सुझाव थियो ।
जितगढी किल्लाको आसपासको क्षेत्रको जग्गा अधिग्रहण गरी किल्ला क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटक आउन सक्ने गरी क्षेत्र विस्तार गर्नुपर्ने पनि विज्ञहरुको सुझाव छ ।

बुटवल उपमहानगरपालिकाका इन्जिनियर धर्मराज ढकाल र आर्किटेक मधु ज्ञवालीले प्रस्तुत गरेको गुरुयोजनाको खाकाअनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुर जग्गालाई बढाएर फराकिलो क्षेत्रमा जितगढी किल्ला क्षेत्रका संरचना तयार गर्नुपर्ने सुझाव सहभागीले दिए।
छलफलमा सहभागी हुँदै डा.आरसी आचार्य, डा.गितु गिरी, डा.सूर्यबहादुर जिसी, विमलबहादुर शाक्य, नेत्र पन्थी, झपेन्द्र जिसीलगायतले अहिले रहेको भूभागले मात्रै जितगढी किल्लाको विस्तारका लागि पर्याप्त नहुने भन्दै बस्ती रहेको अरु भूभाग पनि अधिग्रहण गर्नुपर्ने सुझाव दिए ।
अहिले जितगढीको प्रचारप्रसार हुन नसकेका कारण पर्याप्त पर्यटक नआएपनि आगामी दिनमा पर्यटक बढ्दै जाँदा अहिले बनाएको गुरुयोजना साँघुरो हुने उनीहरुको भनाइ छ ।
‘बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाइसकेपछि यसले वर्षौंसम्मका लागि उपयोगी होस् भन्ने हिसाबले संरचना बनाउनुपर्छ, अहिले जति क्षेत्र अधिग्रहण गर्ने भनिएको छ, त्यसलाई बढाएर अरु क्षेत्र अधिग्रहण गर्ने र ऐतिहासिक शैलीका संरचनाहरु बनाउनुपर्छ ।’ विज्ञहरुको सुझाव छ ।
कार्यक्रममा सहभागी नेपाली सेनाका २२ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी आनन्द अधिकारीले नेपाली सेनाले सैनिकसँग सम्बन्धित प्राविधिक कुराहरुमा थप छलफल गर्दै सहकार्य गर्न तयार रहेको बताए । उनले जितगढीमा भएको तत्कालिन नेपाल–अंग्रेज युद्धको झल्को दिनेगरी वृत्तचित्र बनाउन सकिने पनि सुझाव दिए ।
कार्यक्रममा पूर्व सांसद देवेन्द्र घिमिरे, रामचन्द्र भट्टराई, देवराज पोखरेल, श्रीकृष्ण पोखरेल, प्रदीपकुमार उदय, बलबहादुर आचार्य, ऋषि आजाद, एजाज आलम, नारायण घिमिरे, युवराज घिमिरे, खेमप्रसाद लुईटेल, महेन्द्रकुमार राजभण्डारीलगायतले बोल्दै जितगढीलाई नुवाकोट, मणिमुकुन्दसेन उद्यान, तानसेनसँग पनि जोडेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए ।
त्यसअघि गुरुयोजनाको खाकामा हाल जितगढी किल्ला रहेको भागको दक्षिणपट्टी र उत्तरपट्टिको भागमा संरचनाहरु बनाउने योजना प्रस्ताव गरिएको छ । प्रस्तावित गुरुयोजना अनुसार जितगढी क्षेत्रमा रहेका कभर्ड हल, वडा कार्यालयलाई महेन्द्र राजमार्गभन्दा उत्तरको भागमा सारिने छ ।
जितगढी क्षेत्रमा रहेका केही घरहरु अधिग्रहण गरी पर्खाल लगाएर संग्राहालय, पार्क, स्मारकहरु, तिनाउ किनारमा रात्रीकालीन बजार बनाउने सोंच बुटवल उपमहानगरपालिकाको छ ।
प्रस्तावित गुरुयोजनाअनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा बन्ने संरचनाका लागि ११ करोड ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

उपप्रमुख गुमादेवी आचार्यले प्रस्तावित योजनामा व्यापक सुझाव संकलन गरिसकेपछि फेरि विज्ञहरुसंग बसेर टुंगो लगाइने बताइन् ।
उनले निजी क्षेत्रको सहकार्यमै काम सम्पन्न गर्ने गरि योजना अगाडि सारिएको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले सहजिकरण गरेका थिए ।
ढुवानीका सवारी राख्न छुट्टै भिलेजको प्रस्ताव
उप–महानगरपालिकाले वडा नं. १२ मा छुट्टै ट्रान्सपोर्ट भिलेज बनाउने पनि प्रस्ताव गरेको छ ।
बुटवलको ब्यस्त बजार क्षेत्रमा छरिएर रहेका ट्रान्सपोर्ट र ढुवानीका सवारीसाधनहरुलाई एउटै ठाउँमा विशेष भिलेज बनाएर व्यवस्थित गर्नेगरी योजना प्रस्ताव गरिएको हो ।
त्यहाँ एकैपटक करिब ५० वटा ठूला ढुवानीका साधनहरु राख्न मिल्ने छ भने अरु थुप्रै सवारीहरु आवत जावत गर्न सक्नेछन् ।
मजदुरहरुका लागि आवास गृह, प्राथमिक स्वास्थ्य केन्द्र, गाडीका टायरहरु मर्मत गर्ने केन्द्र देखि छुट्टै स्नान गृहसहितको शौचालय बनाउने प्रस्तावित योजनामा छ ।
त्यहाँ पनि दुई विगह १६ कट्टा क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज प्रस्ताव गरिएको बुटवल उपमहानगरपालिका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, पुष १७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्