अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सिर्जना

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सिर्जना

वासिङटन – संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।

केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् ।

चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ ।

श्रम विभागको नयाँ तथ्याँक सार्वजनिक भएलगत्तै शेयर बजारमा पनि सुधार आएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता शुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ ।

अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्ने बारे बैंकले केही लचक नीति लिने बताएपछि पनि बजारमा सकारात्मक वातावरण बनेको छ । डाउजोन्स औद्योगिक परिसूचक ७४७ विन्दु अर्थात ३ दशमलब ३ प्रतिशतले बढेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रोजगारी वृद्धिलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गर्दछ ।

गत महिना स्वास्थ्यसेवा र शिक्षा क्षेत्रमा नयाँ ८२ हजार रोजगारी थपिएको छ । विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो । रेष्टुराँ व्यवसायमा ४० हजार ७०० नयाँ रोजगारी थपिएको छ । निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सृजना भएको छ ।

व्यवसायीहरुले पनि बढी कामदारको माग गरिरहेका छन् ।

श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सृजना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थप भएको छ ।

गत वर्ष डिसेम्बरमा करिब ६३ लाख मानिसले रोजगारीका लागि निवेदन दिएको पाइएको थियो । अघिल्लो वर्षको यही महिना करिब ६५ लाख मानिसले रोजगार खोजी गरेका थिए । (रासस/एपी)

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij