खस्यौली : प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् ।
शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् ।
बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत शेयर बजारमा चासो राख्ने देखिएका छन् । उनीहरुले एकल रुपमा रु २० हजारदेखि रु एक लाखसम्म शेयर बजारमा लगानी गरेका छन् ।
“विद्यार्थीले सिक्ने चरणमा न्यूनतम २० देखि १०० कित्तासम्म लिएका छन्” दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश भण्डारीले भने । उनले बजारबारे केही सिक्ने चरणमा रहेको र केही बुझेर पनि बजारप्रति आकर्षित हुने गरेको बताए ।
एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको उल्लेख गर्दै विभिन्न कलेजका विद्यार्थीको आर्कषण बढेको जानकारी दिए ।
एकल रुपमा छात्रले लगानी गरेको पूँजी बजारमा आम्दानीको स्रोत बढाउन उनीहरुले लगानी गरेको अनुमान गर्दै उनले बजारको मनस्थिति कमजोर भएकाले केही हतोत्साहित हुने गरेको बताए । शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् ।
रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारीले शेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएकोमा जोड दिँदै शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताए ।
यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस समयअर्थात् पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ ।
अध्यक्ष तिवारीले आगामी चैतदेखि पूँजी बजार ‘बुलिस’ अवस्थामा जाने जिकिर गर्दै नयाँ लगानीकर्तालाई सानो सानो आकारमा लगानी बढाउन सुझाव दिन्छन् । बुटवलका विभिन्न ब्रोकर कार्यालयमा अहिले कूल दुई हजार बढी नयाँ लगानीकर्ता भएको अनुमान छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको बताइएको छ ।
तालीममा नयाँ लगानीको रुचि बढ्दै
प्रदेश नं ५ को बुटवल र आसपासका क्षेत्रमा पूँजी बजारमा प्रवेश गर्नेले शेयर बजारसम्बन्धी तालीम लिन थालेका छन् । यसबाट पूँजी बजारमा शेयर बजारको सचेतनाले बजार बढ्नमा मद्दत मिल्ने विश्वास गरिएको छ ।
पूँजी बजारमा स्नातक तहको व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, प्राध्यापक, महिलालगायतका नयाँ लगानीकर्ताले शेयर बजारसम्बन्धी तालीम गरेर लगानी बढाएको सफल नेपाल इन्भेण्टमेण्ट फोरम रुपन्देहीले जनाएको छ ।
तालीममा शेयर बजारको वर्तमान अवस्था, खरीद तथा बिक्री, कस्ता कम्पनीमा लगानी गर्ने र कसरी फाइदा लिने, कस्ता कम्पनीमा बढी जोखिम हुन्छ भन्ने विषयमा जानकारी दिइएको इन्भेण्टमेण्ट फोरमका अध्यक्ष तिवारीले जानकारी दिए।
बुटवलमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, लायन्स क्लब अफ बुटवलसँग मिलेर इन्भेण्टमेण्ट फोरमले शेयर बजारसँग सम्बन्धित तालीम दिएको थियो । दुवै तालीममा करीब ९० सहभागी थिए । पत्रकारलाई दिएको तालीम समाचार लेखनसम्बन्धी थियो । त्यस्तै कपिलवस्तुमा दिइएको तालीममा ३३ सहभागी थिए । रासस
प्रकाशित मिति : बुधबार, पुष २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्