परासी । नवलपरासीमा रहेका चिनी उद्योगहरू समयमै सञ्चालनमा नआउँदा उखु किसानको उखु खेतमै फुल्न थालेको छ । मंसिर महिनाबाट उखु पाकेर क्रसिङ्ग गर्ने अवस्था भए पनि चिनी उद्योग तीन महिना ढिलो सञ्चालनमा आएका कारण खेतमै उखु फुलेको हो ।
ढिलो गरी चिनी मिल संचालन हुँदा उखुको तौल घटेर गएको छ । ढिलो चिनी मिल संचालनमा आउँदा किसानलाई करोडाैँ घाटा हुने देखिएको हो । उखु कृषकका उखु मूल्य निर्धारणको विवादले मिल ढिलो संचालन भएको छ । सरकारले उखुको मूल्य निर्धारण गरेपछि अनुदान उपलब्ध गराउने प्रकृयागत विवाद देखाउँदै चिनी उद्योग समयमा नचलेका हुन् ।
सरकारले उखुको मूल्य समयमै निर्माण गरे पनि सरकारले तोकेको मूल्य दिन नसकिने भन्दै मिल संचालनमा ढिलाई भएको मिल सम्बद्ध व्यक्तिले बताए । मिल संचालनमा ढिलाई भएपछि यस वर्ष उखु किसानहरूलाई करिब ११ करोड रूपैयाँ घाटा व्यवहोर्न पर्ने अवस्था आएको किसानको भनाई छ । खुटी उखु बिक्री गरेर गहुँ छर्ने किसान मारमा परेका छन् ।
अहिले खेतको उखु खाली गर्न नसक्दा त्यसको असर अन्नबालीमामा समेत पर्ने उखु उत्पादक महासंघका केन्द्रीय सदस्य प्रेम चन्द गुप्ताले जनाए । उखु मिलका संचालकहरूले समयमै उखु मिल संचालन नगरेकाले उखुको तौल घटेर किसानहरूको करिब ११ करोड रूपैयाँको घाटा देखिएको उखु उत्पादक किसान संघका उमेश यादवले बताए ।
विगतका वर्षमा मिल संचालकहरूले मंसिर महिनाको पहिलो सातामै उखु मिल संचालन गरी उखु क्रसिङ्ग गर्दै आएका थिए । बेलामा क्रसिङ्ग गरिएन र उखु फुल्न थालेपछि उखुको तौल १५ देखि ३० प्रतिसत घट्ने भएकाले किसानलाई घाटा हुने उखु प्राविधिकले बताए ।
मिल संचालनमा ढिलाइ भएपछि रिकोभरी कम भएर चिनी उत्पादन घट्दा उद्योगको घाटासँगै चिनी आयातसमेत बढ्ने हुँदा सरकारको व्यापार घाटा बढ्ने बताइएको छ ।
व्यापारीहरूका अनुसार सरकारले उखु बिचौलियाहरूको घेरा तोड्न सकेका छैनन् । बिचौलियाले बिगत केही दिन यतादेखि सीमावर्ती भारतीय बजारबाट समेत सस्तोमा उखु चोरी पैठारी भईरहेको छ ।
नेपाली उखुको तुलनामा भारतीय उखु सस्तो रहेको छ । यसबर्ष सरकारले त समयमै उखुको मूल्य ५६३ रूपैया ६५ पैसा निर्धारण ग¥यो तर मिलहरूले सो मूल्यमा उखु खरिद गर्न नसकिने भन्दै मिल संचालनमा ढिलाई गरे ।
जसकारण किसानलाई उखुमा अहिलेसम्म करीब २० प्रतिशत घाटा भएको छ । उखु खेतमै सुक्ने अवस्था आएको प्रति प्रेमचन्द्र गुप्ताले दुःख व्यक्त गर्दै भने– ‘सरकारले मूल्य नै तोकेर के गर्न सक्छ, उखु खरिद गरिदिइने आफ्नो उद्योग छैन् । त्यसले गर्दा पनि चिनी उद्योगले किसान र सरकार दुबैलाई ठगी मात्रै नभई धोका दिइने कार्य गर्दै छन् । ’
जिल्लामा इन्दिरा सुगर इण्डष्ट्रिस प्रा.लि., बागमति खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरी ३ वटा ठुला चिनी उद्योग संचालनमा छन् भने सय जति भेली क्रसरहरू पनि संचालनमा छन् ।
जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफमा उखु खेती हुँदै आएको छ, जसबाट अनुपातमा २० लाख क्वीन्टल मात्र उखु उत्पादन हुने गरेको छ । अहिले जिल्लामा तीन वटा चिनी उद्योग हुँदासमेत किसानले उखु बिक्री गर्न पाएका छैनन्, तर विगत बर्षमा लुम्बिनी चिनी उद्योग सरकारी स्वामित्वको हँुदा जिल्लामा ४२ लाख क्वीन्टल उखु उत्पादन हुन्थ्यो ।
‘सबै उखु बेलामै क्रसिङ्ग हुन्थ्यो, मूल्य भुक्तानीमा किचकिच हँुदैन्थ्यो’, ५ नं. प्रदेशका प्रदेश सांसद दिपेन्द्र अधिकारीले भने । सरकारले लुम्बिनी चिनी उद्योग पुनः आफ्नो स्वामित्वमा लिएर उखु किसानको समस्या समाधानतर्फ लाग्नु पर्ने बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्