बुटवल । स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका कामहरुमा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासाहरु आइरहेका बेलामा जनप्रतिनिधिहरुले नै सहजिकरण गर्ने गरि मुलुकमै पहिलो पटक यस्तो सेवाग्राही सहायता कक्षा बुटवलमा सुरु गरिएको हो ।
हिजो एक समारोहका बीच नगर प्रमुख शिवराज सुवेदीले सहायता कक्षको शुभारम्भ गरे। त्यसक्रममा उनले सेवाग्राहीका काममा सहजिकरण ल्याउने र परिवर्तनको समेतकेही अनुभूति दिलाउने लक्ष्यका साथ यस्तो कक्ष सञ्चालनमा ल्याइएको बताए ।
उनले कुनै पनि सेवादेहीले वा जनप्रतिनिधिले जायज काममा पनि आनाकानी गर्ने, अतिरिक्त लाभको आशा गर्ने र सेवाग्राहीलाई झन्झट दिने गरेमा उजुरी पेटिकामा विवरणसहित उजुरी दर्ता गराउनेसमेत व्यवस्था मिलाइएको जानकारी दिए ।
त्यस्ता उजुरीहरुको छानबिन गरेर सम्बन्धित व्यक्तिलाई आवश्यकता अनुसारको निकायबाट जवाफदेही बनाइने उनको भनाइ थियो ।
त्यस अवसरमा उपप्रमुख गुमादेवी आचार्यले नागरिक वडापत्रलाई व्यवहारिक बनाउने गरि यस्तो कक्षको सञ्चालन गरिएको बताईन । सेवाग्राहीका गुनासा कम गर्ने र सेवाप्रवाहलाई चुस्त बनाउने उद्देश्यले नौलो थालनी गरिएको कार्यपालिका सदस्य तथा सहायता कक्षका संयोजक रञ्जित शेरचनले बताए।
घरनक्सा पासको टाइम कार्ड लागू
बुटवल उपमहानगरपालिकाले भवन संहीताको पूर्ण कार्यान्वयनमा जोड दिंर्दै सेवाग्राहीका लागि घरनक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्ड लागु गरेको छ ।
बुटवल उपमहानगरपालिकामा घर बनाउने कुनै पनि सेवाग्राहीले आफुले पालना गर्नुपर्ने नियम र भवनसंहीताको मापदण्डका सबै प्रक्रियाका बारेमा पूर्ण जानकारीसहितको पुस्तिका प्रकाशन गरिएको उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दि! ।
आज एक समारोहका बीच उपमहानगरपालिका प्रमुख सुवेदीले घरनक्सा पासको टाइम कार्डको सुरुआत गरे।
सेवाग्राही हेमबहादुर रावललाई त्यससम्बन्धी इजाजतपत्र, घरनक्सापास सम्बन्धी जानकारी पुस्तिकासहितका कागजात हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको योजना प्रमुख इन्जिनियर श्रेष्ठले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनहरुको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ ।
गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली सुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो । यस प्रणाली अन्तर्गत हालसम्म एक हजार दुई सय ७६ नक्सा दर्ता भएको र तीन सय ५० जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको इन्जिनियर सन्तोष पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्