काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ ।
साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
वर्षा धेरै हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन मौमस पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाको आग्रह छ ।
यसअघि मौसमविद्हरुले बुधबार बेलुकीदेखि आइतबारसम्म देशभर वर्षाको सम्भावना रहेको बताउँदै आएका छन् । यो समयमा सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै पाकेको धानबाली नकाट्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा पहाडी राजमार्गमा लामो दूरीको यात्रा नगर्न मौसमविदको सुझाव छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा पदयात्राका क्रममा मौसम प्रतिकूल हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन पनि उनीहरूले सुझाव दिएका छन् । विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा बुधबारदेखि आइतबारसम्म यात्रा गर्दा थप सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
आधिकारिक मौसमी बुलेटिन तथा सूचनालाई नियमित रूपमा हेर्न र सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्नसमेत मौसमविद्हरूले आग्रह गरेका छन् ।


प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्