JanataToday.com

Advertisment

SKIP THIS

महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख

महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख

परासी । पश्चिम नवलपरासीको प्रमुख महेशपुर भन्सारको राजश्व असुली प्रगतिउन्मुख छ । चालू आवदेखि मूल भन्सारको रुपमा सञ्चालनमा आएको यो भन्सारमा शुरुआती समयमा लक्ष्यअनुसार राजश्व सङ्कलन नभएपनि पुस महीनादेखि राजश्व सङ्कलन वृद्धि भएको हो ।

यो भन्सारको प्रतिमहीना रु एक करोड ५० लाख र वार्षिक रु १५ करोड राजस्व अशुल गर्ने लक्ष्य भएकामा भन्सारले गत पुस र माघ महीनामा मै लक्ष्य पूरा गरेको छ । पुस महिनामा लक्ष्यको शतप्रतिशत अर्थात् रु एक करोड ५० लाख र माघमा लक्ष्यभन्दा आठ प्रतिशत बढी अर्थात् रु एक करोड ६२ लाख राजश्व सङ्कलन भएको भन्सारका प्रमुख हेमचन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउनमा रु ४१ लाख २१ हजार, भदौमा रु ५३ लाख ५३ हजार, असोजमा रु ९९ लाख ४३ हजार, कात्तिकमा रु ६० लाख ९० हजार र मङ्सिरमा रु ७८ लाख २८ हजार मात्र असुली भएको थियो ।

यस भन्सारबाट खाद्यान्न, फलफूल, लत्ताकपडा, जुत्ताचप्पल, उद्योगका कच्चा पदार्थ, मोटरपार्टस्लगायत वस्तु आयात हुँदै आएकामा निकासी भने नभएको प्रमुख शर्माले बताउनुभयो ।

विसं २०१५ देखि छोटी भन्सारको रुपमा सञ्चालनमा रहेको यो भन्सारलाई गत साउनदेखि स्तरोन्नति गर्नाका साथै असोज ७ गते अर्थमन्त्री डा युवराज खतिवडाबाट उद्घाटन भएको थियो ।
मूल भन्सारको रुपमा स्तरोन्नति भए पनि आवश्यक पूर्वाधार अभाव र प्राविधिक कठिनाइका कारण यो भन्सारले अझै पनि मूल भन्सारको जस्तै पूर्ण सेवा दिन सकेको छैन । भन्सार प्रमुख शर्माले भन्नुभयो, “भन्सारका लागि आवश्यक जग्गा, कार्यालय भवन, भन्सार यार्ड, मालवस्तु राख्ने गोदाम, कर्मचारी आवास, सुरक्षा निकायको आवासको अभाव भएकाले आवश्यक जग्गा किन्न र भौतिक संरचना निर्माणका लागि पहल गरिरहेका छौँ ।”

यस्तै सीमाक्षेत्रबाटै साँघुरो सडकले ठूला सवारी साधन आवातजावतमा पनि समस्या छ । बेलहिया (सुनौली) नाकाजस्तै दैनिक सञ्चालन गर्नका लागि महेशपुरमा तत्काल चार लेन सडक निर्माण गर्नुपर्ने भएको छ । त्यसका लागि त्यहाँका १२५ घरका एक हजार एक सय वासिन्दा विस्थापित हुने पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सारलाई पूर्ण कार्यान्वयनमा ल्याउन हाम्रातर्फबाट पहल गरिरहेका छौँ, तत्कालका लागि सडक सञ्जाल र सुख्खा बन्दरगाहा बनाउनुपर्ने आवश्यकता छ, जग्गा प्राप्ति कसरी गर्ने, भण्डारण वा बन्दरगाहाका लागि स्थान कहाँ कसरी बनाउने, विस्थापित बस्तीलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषय चुनौतीको रुपमा देखिएकाले सङ्घीय सरकारबाट यसको समाधानको पहल छिटो गर्नुपर्छ ।”

महेशपुर भन्सार मूलभन्सारमा रुपान्तरण भएपछि जिल्लामा रहेका अधिकांश उद्योगले भारतबाट आयात गर्ने कच्चा पदार्थ भने अहिले पनि सुनौली नाका हुँदै आयत गर्ने गरेका छन् । छोटो बाटो र छिटो भन्सार सुविधाका लागि उद्योगी व्यवसायीलाई यही भन्सारको प्रयोग गर्न आकर्षित गर्न थालिएको छ ।

उद्योग वाणिज्य सङ्घ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीले भन्नुभयो, “हामीले भन्सारको प्रवद्र्धन र दिगो विकासका लागि सरोकारवालाबीच अन्तरक्रिया गरेर उद्योग व्यवसायीले भोग्नुपरेको समस्या र भन्सारको समस्या पहिचान गरी समाधानको उपाय खोज्न पहल गरेका छौँ, भन्सारको राजश्व बढाउने, चोरी निकासी नियन्त्रण गर्ने, आयात बढाउने, आयातमा देखिएको समस्या पहिचान गरी समाधान गर्न उद्योगी र भन्सारबीच समन्वयको वातावरण बनाएका छौँ ।”

महेशपुर भन्सारको प्रयोग गर्दा सुनौली भन्सारमा भइरहेको चाप पनि घट््ने उहाँको भनाइ थियो । सङ्घका उपाध्यक्ष एवं आरती ग्यास उद्योग प्रालिका अध्यक्ष नगेन्द्र अग्रहरिले लामो प्रयासपछि स्तरोन्नति भएको यो भन्सार प्रयोग नगरे यहाँको विकास नहुने भएकोले अब सबै उद्योगीले यसै भन्सारबाट आयात निर्यात गर्न आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारीले यस भन्सारलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्न सवैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रदेश सांसद वैजनाथ जयसवालले यो भन्सारको माध्यमबाट जिल्लाको आर्थिक विकास र समृद्धिमा कायापलट हुने भएकाले सरकारले पनि यहाँको भौतिक पूर्वाधार, सडक सञ्जाल विस्तार गरी सहज सञ्चालनको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । यो भन्सार जिल्ला सदरमुकाम परासीबाट ११ किलोमिटर दक्षिणतर्फ भारतको सिमानामा पर्दछ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij