काठमाडौ । आवश्यक उपकरण र सफ्टवेयर अभावका कारण आइतबार साँझ आएको विनाशकारी हावाहुरीबारे समयमै जानकारी दिन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका महानिर्देशक सरजुकुमार वैद्यका अनुसार चितवनमा सिर्जना भएको हावाहुरीले पर्सा हुँदै बारासम्म प्रभाव पारेको थियो। स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणाली अभावका कारण आफूहरूले वर्षा र मेघगर्जनबारे पूर्वानुमान जारी गरे पनि सम्भावित ठूलो खतराबारे भने जानकारी दिन ढिला भएको वैद्यले स्वीकारे ।
उनका अनुसार अहिले नेपालमा प्रयोग भएको सफ्टवेयरबाट यहाँकै मौसमअनुकूल सेट गरेमात्र चाहिने जानकारी लिन सकिन्छ। ‘हामीले चलाइरहेको सफ्टवेयर संसारमा जहाँ पनि प्रयोग गर्न सकिने खालको हो,’ वैद्यले भने, ‘विशेष प्रणाली बनाउन क्रमिक रूपमा सो सफ्टवेयरको विकास गर्नुपर्छ जुन सहज छैन।’
बारा र पर्सामा हावाहुरी आउँदा वायुको गति कति थियो भन्ने तथ्याङ्क छैन। तर त्यतिबेला ४५(५० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको अनुमान सरकारी अधिकारीहरूले गरेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रस्थित डेटा सेन्टरमा विभागको सर्भर रहेको तर केन्द्रकै सर्भर नचलेका कारण आफूहरूले वायुको गतिबारे थाहा पाउन नसकेको वैद्य बताउँछन्।
पूर्वी तराईका केही स्थानमा भएका स्वचालित उपकरणबाट पनि सूचना लिन प्रयास भइरहेको उनको भनाइ छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिन्छ। उनी भन्छन्, ‘स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भयो।’
हाल देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा मेघ गर्जन सहित वर्षा गराउने वादल विकसित भई पूर्व तिर सरिरहेको अवस्था छ ।
विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै सङ्केत देखिएको थिएन। अर्याल भन्छन्, ‘स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न हाम्रो प्रणालीले सकेन।’ भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो।
भारतले नेपालमा भन्दा भिन्न र धेरै जानकारी दिन सक्ने प्रणाली प्रयोग गरेकाले उसले हावाहुरीबारे समयमै सतर्क गराएको हुन सक्ने नेपाली अधिकारीहरू बताउँछन्।
नेपालको मौसम पूर्वानुमान महाशाखाले सोमवार दिउँसो नेपालका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ।
उसका अनुसार पहाडी भेगको केही स्थानमा र पूर्वी तराई भेगका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ। सोमवार राति भने पूर्वी नेपालमा आंशिकदेखि सामान्य बदली रहने, पश्चिम र मध्यनेपालका पहाडी भूभागमा आंशिक बदली हुने र अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।
तर पूर्वी नेपालका केही मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना भने उसले जनाएको छ। भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले सोमवार पनि बिहारमा मेघगर्जन हुने र ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्