ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका लिङ्गको तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सियाटलमा विकास भइरहेको छ। एक जना सफ्टवेयर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरूषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ।
उनी अहिले एकजना साथीलाई आर्टिफिसिअल इन्टलिजेन्स प्रयोग गरेर लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्। उनी भन्छिन्: “जब तपाईँ नचाहेको नाङ्गो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई बेइज्जत गरिएको महसुस हुन्छ।”
“यो कसैलाई बाटोमा गुप्ताङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन।”
यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेल बनाएर पुरुषहरूलाई विज्ञानलाई सहयोग गर्न नाङ्गो तस्बिर पठाउन आह्वान गरेका थिए।
सो इमेल धेरै तस्बिरहरू प्राप्त भएको कारण बन्द गर्नु परेको बताइएको छ।
ठूलो सफलता
सुरुवाती परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन। तर ब्रेस्लर भन्छिन्- यो सफ्टवेअर ठूलो सफलता हो र यसले धेरै नाङ्गो तस्बिरहरू पत्ता लगाएको छ।
“यो समस्या दैनिकजसो समाचारमा आएको छ तर ट्वीटरले यसलाई समाधान गर्न चासो देखाएको छैन।”
ब्रेस्लर भन्छिन्: “यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्।”
ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई समेत दिनसक्ने बताएकी छन्।
प्रकाशित मिति : आइतबार, भाद्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्