तिलोत्तमामा आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम

तिलोत्तमामा आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम

 

तिलोत्तमा, मंसिर २ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी थालेको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउन नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो ।

स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले आगामी शैक्षिक सत्रबाट नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो । तिलोत्तमामा हाल ८५ वटा विद्यालयहरु छन् ।

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्ने समितिको तयारी छ । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरिने संयोजक भुसालले बताउनुभयो । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषयमा जानकारी दिइनेछ ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहने भएकाले विद्यार्थीका लागि रुचीकर रहने शिक्षा उप–सचिव गंगाराम आचार्यले बताउनुभयो । “तिलोत्तमाको समग्र अवस्थाको बारेमा रहने भएकाले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई स्थानीय अवस्थालाई परिचित गराउनेछ ।” शिक्षा उप–सचिव आचार्यले भन्नुभयो । नेपालको संविधानले नै स्थानीय पाठ्य
मको परिकल्पना गरेको छ भने माध्यामिक तहसम्मको शैक्षिक अधिकार स्थानीय सरकारलाई छ ।

विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले सोमबार जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवाको सहभागितामा सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यशाला गोष्ठी गरेको छ । गोष्ठीका सहभागीहरुले स्थानीय पाठ्यक्रममा समेट्नु पर्ने विषयका बारेमा समितिलाई लिखित तथा मौखिम सुझावहरु दिएका छन् । समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रुप दिने संयोजक भुसालले बताउनुभयो ।

कार्यशाला उद्घाटन गर्दै नगर प्रमुख घिमिरेले स्थानीय अवस्थासँग परिचित हुनेगरी विद्यार्थीलाई जिवनोपयोगी शिक्षा दिन स्थानीय पाठ्यक्रम निर्माण सफल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा, शिक्षा उपसचिव गंगाराम आचार्य, नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईं, सचिव लक्ष्मण खनाल, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय, प्रवक्ता सुरेन्द्र श्री, स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसाल, भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक बाबुराम भण्डारी, शिक्षा अधिकृत शारदा भट्टराई, डन चिल्ड्रेनका प्राचार्य कृष्ण खनाललगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij