JanataToday.com

Advertisment

SKIP THIS

दुईमन्त्रीद्वारा निर्माणाधीन बेलबास–बेथरी सडकको अवलोकन

दुईमन्त्रीद्वारा निर्माणाधीन बेलबास–बेथरी सडकको अवलोकन

भैरहवा /जनता टुडे

 

निर्माणाधीन बेलबास–बेथरी सडकको प्रदेश पाँच सरकारका दुईमन्त्रीले मंगलबार अवलोकन गर्नुभएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले निर्माणाधीन उक्त पर्यटकीय सडकको अवलोकन गर्नुभएको हो ।

सडक आयोजना अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले स्थानीय तहलाई अतिक्रमित घर हटाउन निर्देशन दिइएको भन्दै साईट क्लियर गरेपछि मात्र सडक निर्माण सहज हुने बताउनुभयो । “सडक क्षेत्र अतिक्रमण गरेर बसेकाहरुलाई डोजर लगाएर भएपनि हटाउन प्रदेश सरकारले स्थानीय तहलाई भनेको छ, सोही अनुरुप वडाध्यक्षहरुलाई हामीले निर्देशन पनि दिएका छौं”–मन्त्री चौधरीले भन्नुभयो । उहाँले बिजुली र खानेपानीको अवरोध भने प्रदेश सरकारले फुकाउने जानकारी दिनुभयो । बेलबास–बेथरी सडकलाई मर्चवारको खैराघाटसम्म बिस्तार गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले सडक बिस्तारको संभावनाबारे अध्ययन गरेको भन्दै मन्त्री चौधरीले अध्ययनका क्रममा मर्चवारको खैराघाटसम्म यो सडक बिस्तार गर्न सकिने संभावना देखिएको औंल्याउनुभयो ।उहाँले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै निर्माणाधीन सडक आयोजनालाई समयमै सम्पन्न गर्न, आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्न र गुणस्तरीय काम गर्नका लागि प्रदेश सरकारले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरिरहेको बताउनुभयो ।

त्यसक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बेलबास–बेथरी सडक पर्यटकीय सडक भएकाले यसले प्रदेशकै विकाससँग सरोकार राख्ने बताउनुभयो । “यो सडक बनेपछि यहाँबाट धेरै पर्यटकको ओहोरदोहोर हुन्छ, त्यसैले पनि यसलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ”–उहाँले भन्नुभयो ।मन्त्री गिरीले लुम्बिनीको मायादेवी मन्दिर र मर्चवारी मन्दिरलाई एकसाथ जोडेर पर्यटकीय विकास गर्न सकिने संभावना रहेको समेत बताउनुभयो । मर्चवारीमाई मन्दिरलाई लुम्बिनीको मायादेवी मन्दिरसँग जोड्न सकियो भने विकासमा पछाडि परेको मर्चवार क्षेत्रको विकासमा टेवा पुग्ने समेत मन्त्री गिरीले बताउनुभयो ।करिब एक अर्ब ६८ करोड चार लाख बजेट लागत अनुमान गरी टेण्डर गरिएको बेलबास–बेथरी सडकले निर्माण आरम्भ भएदेखि कहिले डिजाइन, कहिले नहर त कहिले मुआब्जाको समस्या झेल्दै आएको थियो । गतवर्षदेखि प्रदेश सरकारमातहत आएपछि यो सडक आयोजना बिस्तारै अघि बढ्न थालेको छ ।
२०७३ साल देखि सुरु गरिएको आयोजना तीन वर्षमा सकिसक्नुपर्ने थियो । अघिल्लो आर्थिक वर्षसम्म संघीय सरकारबाट सञ्चालित आयोजनाले गति लिन सकेको थिएन । आयोजना प्रदेश सरकारलाई हस्तान्तरण भएयता यसले केही चरणको काम सम्पन्न गरेको छ । आयोजनाको तीन खण्डमा काम भैरहेको छ । जसमध्ये दुई ठेक्काको गत साउनमै समयसिमा सकिएको छ भने एउटा खण्डको अझै एक वर्ष समय बाँकी छ ।

प्रकाशित मिति : मंगलबार, पुष ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij