मानवसेवा आश्रमको भवन निमार्ण अभियान,,महायज्ञलाई सफल बनाउन चार नगरपालिकाको प्रतिवद्धता ,

मानवसेवा आश्रमको भवन निमार्ण अभियान,,महायज्ञलाई सफल बनाउन चार नगरपालिकाको प्रतिवद्धता ,

 

बुटवल।
रुपन्देहीका चार वटा नगरपालिकाले मानव सेवा आश्रमले बुटवलमा आयोजना गर्न लागेको ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हिरा केसी,सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी र सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले महायज्ञलाई सफल बनाउने प्रतिवद्धता जनाएका हुन् । बेसहारा र सहयोगापेक्षी सडक मानवलाई व्यवस्थापन गर्न चार तले भवन बनाउन आर्थिक संकलन गर्ने उद्देश्यले यही माघ २० गतेदेखि २७ गतेसम्म सुख्खानगरको भाटभटेनी चोकमा महायज्ञ हुंदैछ । महायज्ञलाई सफल बनाउन र लक्ष्य अनुसार आर्थिक सहयोग जुटाउने उद्देश्यले आश्रमका अध्यक्ष रामजी अधिकारी,महायज्ञका मूल समिति संयोजक लोकनाथ भुसाल,सचिव कृष्ण पंगेनी लगायतको टोलीले नगरपालिकाका प्रमुख र उपप्रमुखसंग भेटेर निम्ता दिने क्रममा चारवटै स्थानीय तहका प्रमुखले महायज्ञलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका अध्यक्ष अधिकारीले बताउनुभयो ।

‘चारवटै नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले सहयोग गर्ने वचन दिनुभएको छ’–अध्यक्ष अधिकारीले भने–‘उहांहरुको साथले महायज्ञ सफल हुन्छ भन्ने हौसला मिलेको छ ।’ मानव सेवा आश्रम प्रदेश ५ को आयोजना र बुटवल उपमहानगरपालिकाको सहआयोजनामा हुने महायज्ञको तयारी पनि अन्तिम चरणमा पुगेको मूल समिति सचिव कृष्ण पंगेनीले बताउनुभयो । महायज्ञस्थलमा सचिवालय स्थापना भइसकेको र स्टेज तथा टेन्टको काम अन्तिम चरणमा पुगेको उनले बताउनुभयो । महायज्ञमा स्थानीयको उत्साहजनक सहभागिता गराउन बुटवलका घरघरमा २५ हजार निमन्त्रणा पत्र बांडिएको छ । दुई दिनभित्र अझै १५ हजार जनालाई निमन्त्रणा बांडिने छ । बुटवलका सबै वडा अध्यक्ष र टोल विकास संस्थामार्फत नगरवासीलाई निम्ता गरिएको छ । यस्तै ५० हजार पर्चा पनि बांडिसकिएको छ । महायज्ञको प्रचार प्रसारका लागि माईकिङ, पोष्टर पम्प्लेट, तथा घरदैलो अभियान तिव्र पारिएको प्रचार प्रसार समितिका संयोजक कृष्ण पंगेनीले बताउनुभयो ।
आठ दिनसम्म चल्ने महायज्ञबाट करिब दश करोड रुपैयां संकलन गर्ने लक्ष्य रहेको छ । भवन बनाउन बुटवल उपमहानगरपालिकाको वडा नंं. ७ हिलपार्क परिसरमा चारकठ््ठा जग्गा व्यवस्थापन भइसकेको छ । दुई सय जना सहयोगापेक्षी बेसहारालाई सेवा दिन मिल्ने गरी कम्तीमा ५० कोठासहितको सुविधा सम्पन्न चारतले भवन बनाउने आश्रमको योजना छ । बुटवल उपमहानगरपालिका बेसहारा र सहयोगापेक्षी सडकमानवमुक्त घोषणा भइसकेको सन्दर्भमा सेवाको स्थायीत्वका लागि भवन निर्माण र आश्रितहरुको भरणपोषणका लागि अक्षयकोष पनि स्थापना गर्ने महायज्ञको उद्देश्य छ । लिफ्ट सुविधासहित बन्ने उक्त भवन अपांग र बाल मैत्री हुने छ ।

प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको वजेटमा २५ लाख रुपैयां दिएको छ । भवन बनाउन ११ करोड रुपैयां लागत लाग्ने तर आर्थिक श्रोत नभएकाले रकम संकलन गर्न महायज्ञ आयोजना गरिएको महायज्ञका मूल संयोजक लोकनाथ भुसालले बताए । अन्य महायज्ञ भन्दा मानवीय सेवा र परोपकारी भावनाले आयोजना गरिएकाले सबै क्षेत्रबाट सहयोग आउने अपेक्षा गरिएको संयोजक भुसालले बताए । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित,गुरुहरूको सामूहिक उपस्थिति,राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरु रहने छन् । महायज्ञ सम्पन्न गर्न लोकनाथ भुसालको संयोजकत्वमा एक हजार एक सय एघार सदस्यीय मूल समिति र २८ वटा उपसमितिहरु गठन गरी तयारीका कामहरु अगाडि बढाएको मूल आयोजक समितिका सचिव गुनाराम घिमिरेले बताउनुभयो । महायज्ञमा दान गर्ने दानवीरलाई महायज्ञमै सम्मान,फोटोसहितको विवरण स्मारिकामा प्रकाशन र भवनको शिलालेख,ताम्रपत्रमा नाम लेखिने र अभिनन्दन गरिने सचिव घिमिरले बताउनुभयो । २०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका दुईहजार तीन सय बढी बेसहारा सडक मानवको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी १४ जिल्लामा उन्नाइस वटा सेवा केन्द्रमार्फत सेवा दिंदै आएको छ । बुटवलमा आश्रमले भाडाको घरमा एक सय ३० जना बेसहारालाई व्यवस्थापन गर्दै आएको र पांचसय बढी सडक मानवको उद्धार गरेको आश्रमकी प्रदेश संयोजक शुशिला केसीले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij