JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमाको वडा नंं ५ शुन्य पोलिथिन वडा घोषित

तिलोत्तमाको वडा नंं ५ शुन्य पोलिथिन वडा घोषित

 

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ५ (मणिग्राम क्षेत्र) शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । यो संगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन नगर र पूर्ण सरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत सोमबार वडा नंं. ५ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।

सोमबार मणिग्राम चोकमा आयोजित सार्वजनिक समारोहमा वडाभित्रका सात वटै टोल विकास संस्थाका अध्यक्षहरु र वडा अध्यक्ष चेतनारायण भण्डारी लगायतले प्ले कार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो । सो अवसरमा बोल्दै राष्ट्रिय सभाका सदस्य एवं वडावासी गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाले शुरु गरेको शुन्य पोलिथिन नगर बनाउने अभियान सामान्य विषय नभई सिंगो देशकै लागि उदाहरणीय प्रयास भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिए ।

वातावरण प्रदुषण र जलवायु परिवर्तनमा प्लास्टिकजन्य फोहोर मुख्य समस्या रहेको उल्लेख गर्दै भट्टराईले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन सिंगो देशलाई शुन्य पोलिथिन बनाउनुपर्नेमा जोड दिए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले चार महिनामा दैनिक दुई घण्टाका दरले करिब एक लाख नगरवासीले पांच करोड रुपैयां बराबरको श्रमदान गरेर सात वटा वडालाई शुन्य पोलिथिन बनाउन सफल भएको बताए ।

नगरवासीले आफ्नो दैनिक आनीबनीमा परिवर्तन गर्नुपर्ने आग्रह गर्दै उनले बाहिरका मान्छेले जथाभावी प्लास्टिक र पोलिथिनजन्य फोहोर फालेमा नगद जरिवाना गर्ने गरी कार्यविधि बनेको र छिट्टै कार्यान्वयनमा आउने बताए । नगरभित्र एक हजार बढी डस्ट बिन वितरण गरिएको र खुलारुपमा पोलिथिन नफाल्न सचेतनामूलक साइन बोर्ड टांगिएकाले अब जथाभावी फाल्नेलाई नगर प्रहरीले कारवाही गर्ने बताए ।

तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले नगरपालिकाको केन्द्र भाग मणिग्राम क्षेत्रसहित वडालाई शुन्य पोलिथिन घोषणा कार्यान्वयनमा टोल विकास संस्था,आमा समूह, विद्यालय,कलेज र उद्योगी–व्यवसायीको इमान्दार साथ चाहिने बताए । तिलोत्तमालाई शुन्य पोलिथिन बनाउने अभियानको आयोजक संस्था दीगो वातावरणीय तथा पारिस्थितीय प्रणाली व्यवस्थापन (सिम) नेपालका निपेश ढाका अधिकारीले चार महिनाको अवधिमा तिलोत्तमाका १७ वटै वडाबाट वर्षौंदेखि फ्यांकिएका ३५ हजार बोरा प्लास्टिक र पोलिथिन संकलन भइसकेको र अझै एक तिहाई संकलन गर्न बांकी रहेको बताए । फागुन दोस्रो हप्तासम्म करिब २० हजार विद्यार्थी र ५ हजार वौद्धिक वर्ग गरी २५ हजार व्यक्तिलाई वातावरण र जलवायू परिवर्तनबारे प्रशिक्षण दिएर गिनिज बुक अफ वल्र्ड रेकर्ड सहित नगरपालिकालाई शुन्य पोलिथिन नगर बनाउने अभियान अन्तिम चरणमा पुगेको बताए ।

उनले तिलोत्तमाको यो अभियान नेपालकै लागि गौरवको विषय हुने बताए । नगरलाई शुन्य पोलिथिन बनाउन सीम नेपालका ७० जना स्वयंसेवक नगरपालिकाका १७ वटै वडाका टोल टोल र नगरभित्रका सरकारी र संस्थागत ८५ वटै विद्यालयमा पुगेर सरसफाई, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि प्लास्टिकले पु¥याउने हानी–नोक्सानीबारे प्रशिक्षण दिने गरेको सिम नेपालकी कार्यकारी निर्देशक लक्ष्मी चापागाईले बताइन् । नगरभित्र संकलित फोहोर तिलोत्तमाकै वडा नंंं. ८ मा सञ्चालनमा आएको फोहोर प्रशोधन केन्द्रमा प्रशोधन गरी विक्रि गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

वडालाई शुन्य पोलिथिन घोषणा समारोहमा टोल विकास संस्था,आमा समूह लगायत संघसंस्थालाई सम्मान र बाजागाजासहित नाचगान गरेर नगरपालिकाका पदाधिकारी र वडावासी रमाएका थिए । यसअघि तिलोत्तमाका वडा नंं. २,४,६,८,९र १६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भइसकेका छन् ।

प्रकाशित मिति : सोमबार, माघ २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij