काभ्रे — वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परिक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको नमूना संकलन गरी परिक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।बेथान्चोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनिहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।
चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रुत परिक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए। फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको थियो।
डा. झाका अनुसार, कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसिया, बहराइन, जोर्डन, न्यूजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, यूएई, ओमान, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडिया लगायतका मुलुकहरुबाट जिल्लावासीहरु स्वदेश फर्किएका छन्। पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन्। विदेशबाट फर्किएका केहीको स्वास्थ्य परिक्षण भएपनि लक्षण नदेखिएकाहरु होम क्वारेन्टाइनमा छन्।
यता, कोरोना संक्रमण पुष्टी भएको सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको हो। अपार्टमेन्टको ११ औं तलामा बस्ने उनी स्थानीय प्रशासनले सिल गरेपछि बाहिरै परेका कारण धुलिखेलस्थित घर आएका थिए। द्रुत परिक्षणमा नेगेटिभ आएपनि उनको स्वाबको नमूना संकलन गरी पीसीआर विधीबाट परिक्षण गर्ने तयारी छ।
प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्