एकाबिहान जब आमाले
चिरबिर गर्दै दानाको खोजीमा
आगनमा आइपुग्ने बथान भंगेरालाई
राखिदिनुहुन्छ पातपातमा दाना
सो बेला ती चराहरुको
खुसीको वर्णन गरिसाध्य हुँदैन
दाना टिप्छन्
मुख भर्छन् र
भुर्र उडेर गुंडतिर जान्छन्
सो बेला म सानो हुँदा
बटुको भरिको भुटेको मकै
दाँतैले कप्टेरा पारेर
मुख जोडेर मेरी आमाले पनि
खुवाएको सम्झना आउँछ
हैन आमालाई भोक
किन लाग्दैन हँ?
आमा तिमीलाई नमन ।
हुर्किदै जाँदा
जब स्कुल जाने दिन आए मेरा
स्कुल पोसाककोरूपमा
सानो घागरा
ससाना जुत्ता
ससानो झोला
ससानो फुर्के रिबन
त्यसमा भराइएका ससाना
कापी र कलम
कन्धामा बोकाए पछि
आँखामा परेलीहरुमा
टिलपिल टिलपिल गर्दैगरेका
खुसीका आँसुलाई सारीको सप्कोले
पुछेर बिदा गरेको सम्झना आउँछ
हैन आमाको मन यति कमलो किन हँ?
आमा तिमीलाई नमन ।
अनेकौं सम्झना छन्
अनेकौं सुमधुर संगमहरु छन्
आमासँग जोडिएका मेरा
जब पहिलो दिनको स्कुल
सकेर आएकी थिएँ घरमा
गम्लङ्ग अंगालो मारेर
उहीँ दुधेबच्चीलाई जस्तै
काखमा राखेर निकै बेर
सुस्ताएको सम्झना छ
हैन आमाले सन्तानलाई
दुधेबालक सम्झिन्छन् किन हँ?
आमा तिमीलाई नमन ।
आजपनि आमाले हेरिरहनुहुन्छ
गौडो नकाटेसम्म मलाई
जब काममा निस्किएकी हुन्छु
जब बेलुकी कामबाट
फर्किरहेकी हुन्छु घर म
समय गणना गर्दै मनमनमा
तगारो कुरिरहनु हुन्छ आमा
बिछट्टै अदभूत आमाको मन
तुलना नै गर्न नसकिने
आकाश, सागर, जुन
र तारा कसैसँग पनि
आमा यति महान किन हुन्छन् हँ?
आमा तिमीलाई नमन ।
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्