अन्तिम रेल -२ (तेह्र सय स्क्वाएर मीटर)

अन्तिम रेल -२ (तेह्र सय स्क्वाएर मीटर)

 

जापान– त्यसपछिका दिनहरूमा पनि कैयौं रेलहरू आइरहे,गइरहे । तर मेरो लागि त्यही रेल नै अन्तिम रेल भयो । काम बाट फर्किने बेला दिनहुँ आँखाहरूले तिमीलाई खोजिरहे तर तिमी भेटिएनौ । उसै पनि खोजेको बेला प्रेम कहाँ भेटिन्छ र ? अनेकौं आरोप लगाएका थियौ, एक एकको जवाफ दिउँला भन्ने सोंचेकी थिएँ तर तिमी नै नभेटिए पछि मैले पनि तिम्रै बाटो रोजें आज । छापा रोजें । आखिर प्रेमको बजारीकरणको सुरूवात तिमीले नै त गरेका हौ !

‘सुसी खाऊ,समुद्री खाना हो, महत्वाकांक्षीले समुद्र पिउनु पर्छ’ भनेका होइनौ ? पिइरहेकी छु त, आखिर नुन पिउनु न रहेछ ! ‘लभ म्यारिज गरुँ कि अरेन्ज म्यारिज’ भनेर सोधेका थियौ । महिला थियौ भने त विवाह नै नगर भन्थें, पुरुष हौ, मागी विवाह नै गर भन्छु । बहुत धेरै फाइदा छन मागी विवाहका । अहिले भन्दिन, बिहे पछि थाहा पाउने छौ । ‘लभ म्यारिज’लाई प्रेम विवाह भन्नेहरूले ‘अरेन्ज म्यारिज’लाई मिलेको बिवाह भनिदिएनन, मागी विवाह भनिदिए । मागेर सजिलै पाएको चीज अलि सस्तो हुँदो रहेछ क्यार !

एक महिना भयो, अचेल मेरो संसार ‘तेह्र सय स्क्वाएर मिटर’ मा समेटिएको छ । सानो झ्याल छ कोठामा । बाहिर स-साना घरहरू र एउटा साँघुरो बाटो देखिन्छ । ती घरहरू मैले कल्पना गर्ने जस्तै घरहरू हुन, बाटो पनि त्यस्तै ! सपना ठूलो थिएन मेरो, केवल समय मेरो वशमा थिएन ! तिमीलाई चाहिं ठूलो घर र ठूलो बाटो रोजी भन्ने भ्रमले जीवनभर नछोड्ने भो !

अलि पर बाट रेल दौडिन्छ । रेलको थर्को कोठा सम्म नै आउँछ । जब रेलको गतिले यो काठको घरलाई थर्र हल्लाइदिन्छ तब यस्तो लाग्छ त्यो रेलमा तिमी सवार थियौ सायद । मुटु ‘थरर’ हुने गरी लेख्ने बानी छ नि त तिम्रो ! गाली गर्न मन लाग्छ, सबै सुरक्षित रहने उपाय अपनाइरहेको बेला किन ज्यानको बाजी राखेर काममा दौडिनु परेको ? फेरि सोंच्छु- तिमीलाई त पैसा कमाउनु पो छ । बिहे गर्नु छ । गहना किन्नु छ ।

अँ साँच्ची, कति ‘डिस्कस’ गर्थ्यौ है तिमी गहनाको विषयलाई लिएर ! कान त छेंडेछौ त तिमीले पनि ! कति अरुको मुटु मात्र छेंड्नु भन्ने लागेर हो ? घर बाट आउँदा सबै सेट गहना ल्याउन पाइन । आधाआधी ल्याएकी छु । तिनै झिक्छु डब्बा बाट । लगाउँछु । मोबाइल अलि पर राख्छु । अनि ‘टिकटक’ खिच्छु । एक्लै बहुलाएको देखेर को हाँस्ला र ? तर ‘प्राइभेट’ नै राख्छु । देखाउनु कसलाई ? हेरिदिन्छ कसले ? ‘आहा’ भनिदिन्छ कसले ? जसले ‘आहा’ भन्न सक्थ्यो, उसले गहना मन पराउँदैन फेरि ! यो जीवन गहना बन्यो प्रेम, किनेको मूल्यमा नबिक्ने, डिजाइन चेन्ज भइरहने !

म भित्ताहरू संग कुरा गर्छु । ‘प्रविधिको देश हो भित्ताहरू पनि बोल्छन’ भन्ने ठानौला, म अक्सर नबोल्ने चिजहरू संग नै कुरा गर्छु । तिम्रो तस्वीर पनि ती मध्ये एक हो । सोंच्यौ होला- सिरानी मुनि तस्वीर राख्छे अझै पनि मेरो ! नो वे, फेसबुकमा राख्छौ त तिमी आफैले, दिन बिराएर ! तिम्रो तस्वीर संग चाहिं झगडा गर्न मन लागे मात्र बोल्छु ।

जीवनमा सबै भन्दा मिस गरेको नै झगडा हो मैले ! भाई बैनी बनाएनन आमा बाबाले । एक्ली प्यारीलाई उनीहरूले कडा शब्द पनि प्रयोग गरेनन । साथीभाईले ‘राम्री’ भनेर सधै माया नै गरे, प्राथमिकता नै दिए सधै । तिमी संगको साथ अति छोंटो भयो । मलाई पनि मन थियो- बैनीको चकलेट चोरेर रूवाउन, भाइलाई पिटेर दादागिरी देखाउन, दाईको पकेट खर्च निकालिदिएर गाली खान, प्रेमीलाई पर्खाएर उसको रीस हेर्न, पतीलाई चिढाएर किचनमा भाँडा बजार्न ! समयको कुनै खण्डले पनि त्यो सौभाग्य दिएन मलाई ! झगडा बिनाको प्रेम पनि के प्रेम हगि ?!

एक दुई दिन बिराएर ‘सुपा’मा जान्छु । घरीघरी त मास्क नै नलगाई गइदिऊँ कि झैं लाग्छ । तर म नडराएको देखी अरु डराउने हुन कि भनी सचेत बनिहाल्छु उत्तिबेलै । के बिमार आयो यस्तो प्रेम, मान्छे संग मान्छे डराउनु पर्ने ? त्यो दिन रेलमा तिमी र म पनि त कोरोना लागेका मानिस झैं त गर्यौं नि हगि ? साँच्ची, हामीले बोल्नै नहुने कुन पाप गरेका थियौं र जीवनमा ? तिमी के अब कैलै नबोल्ने हौ म संग ?

कहिलेकाहिं ‘यामातो’ र ‘यूबिन’का मान्छे आउँछन ‘डोरबेल’ बजाउन । चिट्ठी दिएर जान्छन । ती चिट्ठी तिम्रा होइनन, तिमी त ड्याङका ड्याङ छापामा लेख्ने भएछौ, खामबन्दीको दुःख किन गर्थ्यौ र ! म जापानीज भाषा खासै बुझ्दिन तर ती ढोकामा आउने जापानिजहरूको अनुहारको भाषा र सम्मानको झुकाव चाहिं बुझ्छु । त्यो बेला म तिमीलाई सम्झिन्छु । यो काम तिमीले गर्नु पर्ने के ! तिम्रो भाषा पनि त मैले कैलै बुझिन, केवल मुस्कान बुझें । उदासी त तिमीले कहिलै देखायौ र बुझ्नु ?!

‘मानिसहरू प्रश्न गर्छन तिम्रो सन्तानको अनि मेरो बिहेको विषयलाई लिएर’ भनेका होइनौ ? बिहे गर्न जस्तो सजिलो छ र सन्तान बनाउन ? तिमीले पनि यस्तै प्रश्न मलाई सोध्न सक्छौ, ‘सन्तान बनाउन जस्तो सजिलो छ र बिहे गर्न’ भनी ! दुबै काम प्रेम बिना सजिलो छैन प्रेम ! अहिलेलाई यत्ति बुझ !

एउटा ठूलो पलंग, सानो सोफा, ठिक्कको दराज, अटेको टेबल र रहेको भुइँ, मेरो ‘तेह्र सय स्क्वाएर मीटर’को संसारमा यिनै चिज छन । सिरान पट्टी भित्तामा हामी दुईको फोटो छ, जहाँ मात्र हामी दुई सधै संगै हुन्छौं । ‘चौबीसै घण्टा संगै त को नै पो हुन्छ र संसारमा’ भनौला ! तर संगै हुनु पर्ने जती संगै नभए पछि कहिलै संगै नभएको भन्न पनि मिल्दो रहेछ ! खैर, गुनासो त्यो हैन ! गुनासो त एक किसिमले मैले गर्नै मिल्दैन पनि, रोजेको जीवन जो पाएकी छु !

अब एकछिनमा उहाँ उठ्नुहुन्छ । आज ‘नाइट ड्यूटी’ छ सायद । हिंजो पनि नाइट ड्यूटी बाट आउनुभाको । कहिले कमाएर आउनुहुन्छ, कहिले गुमाएर ! कमाएर आउँदा यता बाट पनि असुल्नुहुन्छ, गुमाएर आउँदा गुमनाम निदाउनु हुन्छ ! ‘बिज्नेसम्यान’ संग कमाई र गुमाई सोध्नु हुँदैन रे क्या,बुझ्नु पर्छ रे ! ‘बुझेस् है छोरी’ भनी सम्झाएर बाबाले फूलको गाडी चढाउनुभएको बिर्सिन मिल्दैन मैले !

तेह्र सय स्क्वाएर मीटर भित्र तेह्र मिनेट जति समय चाहिं मैले पाउँछु । जुक्ति पुर्याएर खोज्ने हो भने प्रेम त्यहिं भेटिन्छ, खोज्न नसके भित्ताहरू त छँदै छन बात मार्नलाई ! अँ साँच्ची प्रेम, म्यारिज त खेल्न पनि मिल्छ रे त है ? मानिसहरू ‘लभ म्यारिज’ बढी खेल्छन कि ‘अरेन्ज म्यारिज’ ?!

 

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij