भैरहवा –भैरहवा भन्सारमा सोमबारदेखि मालवाहक सवारीसाधन पुनः भित्रिन थालेका छन् । स्थानीयवासीले भारतीय ट्रक र कन्टेनरका कारण बेलहिया क्षेत्र जोखिममा परेको लगायतका माग राखेपछि आइतबार सांझदेखि मालवाहक सवारीसाधन भन्सारमा आउन सकेका थिएनन् ।
सोमबार प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयको उपस्थितिमा भन्सार प्रशासन, भन्सार एजेण्ट संघ र स्थानीय अगुवाबीच सम्पन्न छलफलपछि पुनः सवारीसाधन भित्रिन सुरु भएको हो ।स्थानीयले भन्सारमा काम गर्ने सबै र विशेष मजदुरको सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, एउटा कम्पनीको (एजेण्ट) बढीमा दुईजना सहयोगी हुनुपर्ने, सम्पूर्ण सवारीसाधनलाई पूर्ण सेनेटाइज गर्नुपर्ने, अतिआवश्यक बाहेकका सामान ल्याउन नहुने, मालवाहक सवारीसाधनका चालकहरु भन्सार क्षेत्रमै बस्नुपर्ने, कुनै पनि सवारीसाधन भन्सार प्रवेश गरेपछि सिधै गन्तव्यमा जानुपर्ने, अनिवार्य मास्क, पञ्जा र पुरा शरीर ढाक्ने कपडा प्रयोग गर्नुपर्ने, भित्रै क्यान्टिन चलाउनुपर्ने, भित्र काम गर्ने मजदूरको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भारतीय सवारी चालकहरु सुरक्षित रहेको प्रमाण हेरिनुपर्ने, भारतीय सवारी चालक र सह–चालकको विवरण राख्नुपर्ने माग राख्दै आएका थिए । उनीहरुले सोही माग राख्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ मार्फत प्रधानमन्त्री केपी ओली र भैरहवा भन्सार कार्यालयका प्रमुख कमल कुमार भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
छलफलमा बोल्दै प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले भन्सार सम्बन्धि समस्या समाधान गर्ने दायित्व प्रदेश सरकारको पनि रहेको र बेलहिया र भन्सारबीचको सम्बन्ध पनि प्रगाढ हुनुपर्ने बताउनु भयो । पाण्डेले भन्सार बन्द हुनुपर्छ भन्ने सोच नभए पनि सजकता भने अपनाउन आवश्यक रहेकोमा जोड दिनु भयो । पाण्डेले भन्सारको समस्या आफुले प्रदेश सरकार समक्ष पनि पु¥याउने उल्लेख गर्नु भयो । सर्वप्रथम किट ल्याएर भन्सार क्षेत्रमा आउने चालक, सह–चालक तथा यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुको आरडीटि परीक्षण गराउने व्यवस्था मिलाउने पाण्डेको भनाइ रहेको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख कमल कुमार भट्टराईले अहिले खासगरी चामल, फलफूल र आलु प्याज आयात भइरहेको जानकारी दिनु भयो । भटटराई ले भन्सार एजेण्टका प्रतिनिधि तथा मजदूरहरुलाई बारम्बार सामाजिक दुरी कायम गरेर भिडभाड नगरी काम गर्न आग्रह गरिएको बताउनु भयो । । भटटराईले मालसामानको आपूर्ति गर्ने प्रक्रिया अवरुद्ध भए यसले असहजता ल्याउने भएकोले आपूर्तिलाई नियमित बनाउनुपर्नेमा जोड दिनु भयो । भन्सारमा आउने नयाँ मजदूरहरुको तथ्यांक राख्न निर्देशन दिइएको र केही अप्ठयारो परिस्थितिको सिर्जना भए तत्काल सम्बोधन गरिने भट्टराईले बताउनु भयो । महामारीको
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले चालक र सह–चालकको विवरण राखिएको बताउनु भयो । प्रहरी निरिक्षक अधिकारीले आपूर्ति व्यवस्थालाई अवरुद्ध गर्न नहुने बताउनु भयो ।
बेलहिया का स्थानीय अगुवा उज्जवल पोखरेलले मजदूरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउदै एउटा गाडीबाट सामान अनलोड भएपछि मजदूरहरुको हात धुने व्यवस्था गर्नुपर्ने बताउनु भयो । पोखरेलले भन्सार एजेण्ट संघका प्रतिनिधिहरुको अनिवार्य परिचयपत्रको चेकजाँच गर्नुपर्ने बताउनु भयो । पोखरेलले भन्सार बन्द नै गरेर राजस्व प्रभावित गर्ने स्थानीयवासीको माग नरहेको उल्लेख गर्दै सावधानी अपनाएर सुरक्षामा ध्यान दिनुपर्ने बताउनु भयो ।
नेपाल भन्सार एजेण्ट संघका अध्यक्ष असिम न्यौपानेले समस्या समाधानका लागि एजेण्ट संघ तयार रहेको र यसबारे पहिला पनि छलफल भएको बताउनु भयो । न्यौपानेले चालक र सह–चालकलाई भन्सार क्षेत्रबाहिर नजान भनिएको बताउनु भयो ।
भारतीय मालवाहक सवारीसाधनका कारण जोखिम बढेको भन्दै स्थानीयको आग्रह पछि आइतबार पेट्रालियम पदार्थ बोक्ने सवारीसाधन मात्र भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले बताउनु भयो । सोमबार कोइला, औषधी लगायत का ३५ वटा सवारीसाधन भित्रिएको लम्सालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्