तिलोत्तमाको वार्षिक नीति तथा कार्यक्रम पारित

तिलोत्तमाको वार्षिक नीति तथा कार्यक्रम पारित

तिलोत्तमा-  तिलोत्तमा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको ७ औं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ । नगर प्रमुखद्धारा प्रस्तुत नीति तथा कार्यक्रममाथि आइतबार बसेको नगरसभाको दोस्रो बैठकमा दफाबार छलफलपछि सर्वसम्मत पारित गरेको हो ।

आइतबारको बैठकमा नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेको भन्दै यसको सफल कार्यान्वयनमा जोड दिएका थिए । साथै उनीहरुले छाडा कुकुर नियन्त्रण, सिंचाई, मल, बिऊको सन्दर्भमा किसानले भोगेका समस्या, कोरोना महामारीले व्यवसायीलाई पारेको प्रभावको सन्दर्भलाई समेत नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताएका थिए ।

बैठकमा नगरसभा सदस्यहरु भोमबहादुर बुढामगर, मानकाजी श्रेष्ठ, रमेश आचार्य, धन बहादुर खड्का, श्यामकुमारी गौतम, श्यामलाल क्षेत्री, पार्वती क्षेत्रीलगायतले आफ्ना सुझाव राख्नुभएको थियो । नगरसभा सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख घिमिरेले स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको बताउनुभयो । नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकाश योजना कार्यान्वयनमा केन्द्रीत रहेको उहाँको भनाइ छ ।

नगरभित्रका स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्तियुक्त बनाई भरपर्दो र विश्‍वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने, थप २ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजर सहितको सेवा प्रदान गर्ने, सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा सुविधा सम्पन्‍न खोप केन्द्र सञ्‍चालनको लागि पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै पुगेर प्रदान गर्ने, विपन्न वर्गलाई स्वास्थ्य बीमामा अनुदान दिने, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाको प्रोत्साहन भत्ता १ हजार पुर्याउने, गर्भवती महिलालाई सुपानेट झुल दिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा समेटिएको छ ।

शिक्षामा चालु आर्थिक वर्षका सबै कार्यक्रमलाई निरन्तरता दिँदै कम्तिमा ५ वटा सामुदायिक विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो । नीति तथा कार्यक्रममा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइएको छ ।

सोह्र–छत्तीस मूल नहरको सम्भाव्य स्थलमा बहुउपयोगी जलासय निर्माण गरी माछापालन गर्ने, नगरका सम्भाव्य स्थानमा जलासय निर्माण गरी पानी रिचार्ज हुने व्यवस्था मिलाउने, “तिलोत्तमा लगानी सम्मेलन” मा जनाइएको प्रतिबद्धताअनुसार परियोजना कार्यान्वयनको लागि आवश्यक सहजीकरण गर्ने, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा थप १५० जना युवालाई ४ लाख सम्म सहुलियत ऋण दिने, सुधारिएको आरन पेशामा आवद्ध हुन चाहनेलाई उपकरणमा ८० प्रतिशत अनुदान दिने नगरपालिकाको योजना छ । यस्तै नगरपालिकाले सम्भव हुने वडामा सार्वजनिक–निजी–साझेदारी मोडलमा कम्तिमा १० विगाहा जमिन चक्लाबन्दी गरी व्यवसायिक खेती सुरु गर्ने महत्वाकांक्षी नीति लिएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij