काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।
मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीका अनुसार कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको हो ।
मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गरिने उनले जानकारी दिए ।
अहिले मुलुकभर २३ स्थानमा पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित संक्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो ।
यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड–१९ को पिसिआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।
अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पिसिआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म दुई लाख छ हजार २७१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्