व्यवसाय धाराशायी भयो, सरकारले सुनेन : उद्योगी व्यबसायी मौद्रिक नीतिका प्रतिक्षामा

व्यवसाय धाराशायी भयो, सरकारले सुनेन : उद्योगी व्यबसायी मौद्रिक नीतिका प्रतिक्षामा

बुटवल -विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि गरिएको लकडाउनका कारण व्यबसाय धाराशायी भएपनि नीजि क्षेत्रको लगानी सुरक्षाकालागि गरिएको आग्रहलाई सरकारले नसुनेको उद्योगी व्यबसायीले गुनासो गरेका छन् ।

बुटवल उद्योग बाणिज्य संघरुपन्देहीको मंगलबार भएको २७ औं सल्लाहकार सभामा बोल्ने अधिकांश उद्योगी व्यबसायीले लकडाउनका कारण उद्योग व्यबसाय बन्द गर्नुपर्ने स्थिती उत्पन्न भएको बताउँदै नीजि क्षेत्रबाट भएको लगानी सुरक्षाकालागि पहल गरिदिन उनीहरुले संघ तथा नेपाल उद्योग बाणिज्य महासंघलाई आग्रह गरेका छन् ।

अनलाईन प्रविधिका माध्यमबाट गरिएको सल्लाहकार सभामा नेपाल उद्योग बाणिज्य संघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले लकडाउनका कारण उद्योग व्यबसाय ठप्प भएको र उद्योगी व्यबसायी प्रताडित भएको बताउँदै आगामी आर्थिक वर्षकालागि सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत व्यबसायीका समस्या सम्बोधन नभएको बताउनु भयो । महासंघले उद्योगी व्यबसायीका समस्या समाधानकालागि पहल गरिरहेको र मौद्रिक नीतिमा भएपनि सम्बोधन हुन्छकी भन्ने झिनो आशा बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो ।

सल्लाहकार सभामा स्वागत गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले लकडाउनका कारण उद्योग व्यबसाय क्षेत्रमा उत्पन्न समस्या समाधानकालागि संघले खेलेको भूमिका राख्दै संघले उठान गरेका समस्या समाधानकालागि स्थानीय स्तरमा संघले पहल गर्ने र केन्द्रीय तहमा महासंघलाई जोडदार रुपमा लाग्न आग्रह गर्नुभयो ।

कोरोना महामारीका कारण गरिएको लकडाउनकै कारण उत्पन्न समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा जिल्ला नगरका सभापतिहरु अनलाईन बैठक बसेर छलफल गरि आवश्यक परेमा फिल्डमा उत्रिन समेत जिल्ला नगर उद्योग बाणिज्य संघ तयार रहेको निश्कर्ष निकालिएको उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, अर्जुनमान सैंजु, परामर्शदाता महेन्द्र थापाले व्यबसायिक समस्या समाधानकालागि बुटवल उद्योग बाणिज्य संघले पहिलेदेखि नै निर्णायक पहलकदमी गर्दै आएको र अहिलेको असहज परिस्थितीमा उद्योगी व्यबसायीले महसुस गर्ने गरि समस्याको समाधानकालागि निर्णायक पहल गर्नुपर्ने भनाई राख्नुभएको थियो ।

संघका वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बस्तुगत समितिले तयार गरेका प्रतिवेदनहरुको समन्वय गरि सल्लाहकार सभामा प्रस्तुत गर्नुभएको थियो । संघमा २९ वटा बस्तुगत समिति रहेका छन् । त्यस्तैगरी महासचिव दिनेशप्रसाद श्रेष्ठले संघको ६६ औं वार्षिक साधारण सभा यताको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुको धन्यवाद मन्तव्यमा भएको सल्लाहकार सभामा कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम ह्योजु, डिलर समितिका सभापति कुलप्रसाद श्रेष्ठ (कृष्ण), पुस्तक तथा स्टेशनरी बस्तुगत समितिका सभापति राजेश भट्टराईले व्यबसायिक समस्या र समाधानका बारेमा भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij