बुटवल -थारु समुदायका महिलाको मुख्य चाड जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन आज (बिहीबार) हो ।
निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । जसले घरमै बसेर पर्व मनाउनु पर्ने अवस्था आएको छ । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् ।
कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभाले जनाएको छ ।
आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् ।
अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पु¥याउने चलन पनि छ ।
तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।
आज अष्टमीको दिन भएकोले महिला बिहानैदेखि ‘उपास’ ब्रतबसि घरमै झम्टा नाँच नाचेर मनाइरहेका छन् । थारु महिला अगुवा चितवनको खैरहनी–९, बैरहनीकी चन्द्रकुमारी चौधरीले भनिन्, “कोरोनाका कारण यसवर्ष घरमै जितिया मनाइ रहेका छौँ, गाउँका सबै महिला दिदीबहिनीलाई घरमै झाम्टा नाच नाचेर मनाउन आग्रह गरेका छौँ ।” महिला नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभर नै झमटा नृत्यमा झुमेर रम्ने दिन हो जितिया । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।
त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।
हिन्दु धर्मालबम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवा जोखा चौधरी बताउँछिन् ।
थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढीलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीलाई जानकारी दिने गरेका छन् । यस वर्ष कोरोनाका कारण प्रतियोगितात्मक कार्यक्रमहरु भएनन् ।
विगत वर्षमा एक साता अघि देखि नै संस्कृति संरक्षणका लागि जितिया गीत तथा नाच प्रतियोगिताहरु हुने गर्दथ्यो । भीडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु महिला अगुवा रुकमिणी चौधरी बताउँछिन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्