काठमाडौँ ।
कोरोना भाइरसको फैलिँदो संक्रमणलाई मध्येनजर गरी यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न मन्त्रालयका सचिबहरुले सरकारलाई सुझाव दिएका छन् ।
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार,प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत कोरोना भाइरस संक्रमण भएपछि सचिवहरूले सरकारलाई उक्त सुझाव दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएका हुन् ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज २५ गते मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखापरेको बताएका थिए ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको असोज २६ गते बसेको बैठकमा सांसदहरूले काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सिल गर्नुपर्ने सुझाएका दिएका थिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पनि यही अवस्थामा कोरोना संक्रमण बढ्दै गए काठमाडौं उपत्यकामा लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार पुग्यो भने लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिइसकेको छ ।
सचिवहरूले लामो बिदाको माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचि नदेखाएको बताइएको छ ।
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्