काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमा झार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक लागेको भन्दै ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका कमजोरीबाट पाठः सिकेर गरिबी निवारणको आगामी बाटो तय गरेको उल्लेख गरे ।
‘हामीले गरिबी निवारण नीति, पन्ध्रौं योजना, दीगो विकास लक्ष्यहरु, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजनाहरु तय गरिसकेका छौं’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निरपेक्ष गरिबीको रेखामुनी रहेको १८ दशमलव ७ प्रतिशत जनसंख्यालाई आगामी १० वर्ष सम्ममा ५ प्रतिशत भन्दा तल सीमित गर्दै आगामी २३ वर्ष भित्र शुन्यमा झार्ने र सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकका रुपमा उभ्याउने संकल्प गरेका छौँ ।’
प्रधानमन्त्री ओलीले यो संकल्प मार्फत् गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्रिय रहेको दाबी गरेका छन् । ओलीले शुभकामना सन्देशमा विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षामा सार्थक उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
‘अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस, २०२० को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु’, उनले भनेका छन्, ‘मुलुकलाई गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सार्थक उत्प्रेरणा यस दिवसले प्रदान गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’
संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ ।


प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्