काठमाण्डाै – यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ ।
लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत सरसफाइ गरिन्छ ।
लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ ।
केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
आज बेलुका समूह बनाएर घरघरमा भैलो समेत खेलिन्छ । तर कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष भीडभाड र समूहमा भेला भएर भैलो नखेल्न सरकारले आग्रह गरेको छ ।
कुकुर तिहार पनि मनाइँदै
आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीको बिहान आज नदी, तलाउ वा धारामा गएर स्नान गरेर नरक स्नान समेत गर्ने गरिन्छ ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार सुरु भएको हो । दोस्रो दिन हिजो काग तिहार मनाइएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्