काठमाण्डाै – तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउनेलाई समस्या भएको छ । चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ । हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन् ।
यसैबीच काठमाण्डौमा पनि अस्ति सोमबारदेखि आकाश धुम्म हुन थालेको छ । अघिल्लो हप्ता बदली भएर खुलेको आकाश फेरि धुम्म भएको हो । आकाश खुलेपछि काठमाण्डौमा दिउँसो गर्मी अनुभव हुन थालेको थियो । तर अस्तिदेखि दिउँसो चिसो हुन थालेको छ । अस्ति काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा हिजो घटेर १८ दशमलव ६ डिग्री सेल्सियस कायम भएको थियो । आज पनि काठमाण्डौको तापक्रम यही हाराहारीमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौमा बाक्लो हुस्सु नलागे पनि बिहानपख कुहिरो र दिउँसो तुवाँलो लाग्ने गरेको छ । काठमाण्डौको मौसमले हवाइ उडानमा असर नगरे पनि तराईमा दिउँसोसम्म बाक्लो हुस्सु लाग्ने गरेका कारण कतिपय उडान रद्द र कतिपय ढिलो हुने गरेका छन् । आज पहाडी भेगमा आंशिक बदली रहने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी ठाउँहरुमा मौसम सफा रहने छ ।
प्रकाशित मिति : बुधबार, पुष २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्