ठाकुर-महतो पक्षको अनौपचारिक बैठक बस्दै, जतिबेला पनि सरकारमा जान सक्ने

ठाकुर-महतो पक्षको अनौपचारिक बैठक बस्दै, जतिबेला पनि सरकारमा जान सक्ने

काठमाडौं । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टी (जसपा) को अनौपचारिक बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजेपछि पार्टी कार्यालय बालकुमारीमा बस्ने एक नेताले मकालु खबरलाई जानकारी दिए । भने— ‘बैठक बस्दैछौँ । वर्तमान जसपाकेन्द्रित राजनीतिक घटनाक्रमबारे समीक्षात्मक छलफल हुनेछ । अरु नेता साथीहरु आउनुहुन्छ ।’

ती नेताकाअनुसार जसपा आज वा भोलिभित्र सरकारमा जानेछ । बिहीबार नेताद्वय ठाकुर—महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको बताउँदै ती नेता भने— ‘हिजो दुई नेताहरु (ठाकुर—महतो) बालुवाटार जानुभएको थियो । त्यो क्रममा थप प्रगति भएकाे छ। अब आज वा भोलिभित्र हामी सरकारमा जानेछौँ ।’ बालकुमारीमा छलफल सकिएपछि ठाकुर—महतो फेरि बालुवाटार जाने तयारी छ।

नेता लक्ष्मणलाल कर्णले पनि जसपा सरकारमा जाने पक्का भइसकेको तर यही दिन भन्ने चाहिँ टुंगाे भइनसकेकाे बताउँछन् । जसपा जतिबेला पनि सरकारमा जान सक्ने भन्दै नेता कर्णले भने— ‘मैले भन्दै आएको छु । जसपा सरकारमा जाने भइसक्यो । तर, साइत चाहिँ मिलिसकेको छैन । जसपा आजको भोलि पनि सरकारमा जान सक्छ । दुई/चार दिनपछि जान पनि सक्छ । अहिलेसम्मको अवस्थालाई हेर्दा यही दिन जान्छ भन्ने पक्का भइसकेको छैन ।’ नेता कर्णकाअनुसार दुई नेता ठाकुर—महतो लगातार छलफल तथा सम्वादमा छन् ।

यता प्रधानमन्त्री ओलीले पनि केही दिनभित्र मन्त्रिमण्डल पुनःगठन गर्ने मनस्थिति बनाएको उनीनिकट एक नेताले मकालु खबरलाई बताए । ‘उहाँ (प्रधानमन्त्री) केही दिनभित्र जसपासहितको मन्त्रिमण्डल पुनःगठन गर्नुहुन्छ । तर अहिलेसम्म समय तय भएको छैन । सबै कुरा मिलिसकेको छ । गर्न मात्रै बाँकी हो ।’

जसपाले सरकारमा जानको लागि ८ मन्त्रालयको माग गरेको छ । जसपाको माग प्रधानमन्त्री ओलीले पूरा पनि गरिसकेका छन् । नेता कर्णले भने— ‘अधिकांश मागहरु पूरा भइसकेको छन् । अब सरकारमै जान त के गाह्रो भयो र आजको भोलि पनि जान सक्छौँ ।’

यता संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा)ले भने ओली नेतृत्वको सरकारमा सामेल नहुन पार्टी पङ्तिलाई सचेत तुल्याउँदै आएको छ । ओली नेतृत्वको सरकारमा जसपा सामेल नहुने र कोही नेताहरु सरकारमा गए पार्टीले कारबाही गर्ने चेतावनी दिइरहेको छ । नेतृ रेनुकुमारी यादवले मकालु खबरसँग भनिन्— ‘जसपा सरकारमा कसरी जान्छ र ? हामीले त नजाने नै भनेका छौँ नि । कोही गयो भने त पार्टीले विधिवत् रुपमा कारबाही गर्छ ।’

करिब १३ महिनाअगाडि हतार—हतार एकतामा बाँधिएका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) फुटको सन्निकट पुगेका छन् । ठाकुर—महतोपक्षीय जसपा सरकारमा सामेल भयो भने जसपा विधिवत् रुपमै फुट्ने सम्भावना बलियो बन्नेछ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij