फेरि बढ्यो कोरोना संक्रमण‚ नयाँ भेरिएन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ

फेरि बढ्यो कोरोना संक्रमण‚ नयाँ भेरिएन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ

एक जनामा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति ‘बिए पोइन्ट फाइभ’

काठमाडौं : नेपालमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति ‘बिए पोइन्ट फाइभ’ पुष्टि भएको छ।  धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको उपप्रजाति बिए पोइन्ट फाइभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचइओसी) प्रमुख डा. समीर अधिकारीले बताए।

पछिल्ला केही दिनयता नेपालमा संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा ओमिक्रोन भेरिएन्टको  नयाँ उपप्रजाति बिए पोइन्ट फाइभ भेटिएको हो। ‘भेरिएन्ट समुदायमा रहेको र संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नयाँ उपप्रजातिहरू भेटिने सम्भावना हुन्छ, अहिले हाम्रोमा संक्रमण बढ्दै गएको अवस्थामा एकजना संक्रमितमा यसअघि ओमिक्रोन भेरिएन्ट जस्तो थियो त्यसमा अलि परिवर्तन भएको रिपोर्ट आएको हो, अरु विस्तृत रुपमा त हामी पनि अध्ययन गर्दै छौं‚’ डा अधिकारीले भने।

एक जना संक्रमितमा मात्रै उक्त ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति बिए पोइन्ट फाइभ देखिएको समेत उनले बताए।

पछिल्लो समय देशभर संक्रमण बढ्न थालेपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दिन संक्रमण बढ्दै गएपछि पुरानै भेरिएन्ट हो कि नयाँ भेरिएन्टको संक्रमण बढेको हो थाहा पाउनका लागि सातै प्रदेशको केही नमुनालाई हाल आनुवांशिक परीक्षण(जिन सिक्वेन्सिङ) गरिरहेको छ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले उक्त जिन सिक्वेन्सिङको रिपोर्ट आज साँझ वा भोलि बिहानसम्म आउनेसमेत बताए। ‘संक्रमण बढ्दै गएपछि हामीले नयाँ भेरिएन्ट हो वा पुरानै भेरिएन्टका संक्रमित बढेका हुन् भनेर पत्ता लगाउन सातै प्रदेशका केही सिम्बोलिक नमुनाको जिन सिक्वेन्सिङ गरिरहेका छौँ, यसको रिपोर्ट आज साँझ वा भोलि बिहानसम्ममा आइपुग्छ‚’ उनले भने।

कति आक्रामक छ ओमिक्रोनको नयाँ उपप्रजाति ‘बिए पोइन्टफाइभ’

हाल ओमिक्रोन भेरिएन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना संक्रमण दर विश्वका केही देशमा बढिरहेको छ।

दक्षिण अफ्रिकामा उत्परिवर्तन भएको बिए पोइन्टफोर र बिए पोइन्टफाइभ उपप्रजातिले अमेरिका, जर्मनी‚ बेलायत लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ।

अन्य भेरिएन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बिए पोइन्ट फाइभ’ छिटो फैलिएको पाइएको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेर बहादुर पुन।

‘हालसम्मको यो भाइरसको संक्रामक अवस्था हेर्दा छिटो फैलिएको पाइएको भए पनि धेरै आक्रामक नभएको देखिएको छ, तर यसको संक्रमणबाट गम्भिर असर भने देखाएको हालसम्म पाइएको छैन। तर संक्रमण फैलाउन ओमिक्रोनको उपप्रजातिले सघाएको पछिल्लो पटक विश्वमा संक्रमण बढ्दै गएको कुराले पुष्टि हुन्छ‚’ डा पुनले भने।

बिए पोइन्ट फाइभ’ उपप्रजातिका कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागि नसकेको भए पनि खोप लगाएका कारण गम्भीर नहुने अनुमान गर्न सकिने उनले बताए। खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेको खण्डमा आत्तिइहाल्नुपर्ने अवस्था हाल नरहेको समेत उनले बताए।

‘यो बिए पोइन्ट फाइभ’ उपप्रजातिले सङ्क्रमण दर बढाए  पनि यसले खासै अस्पतालमा भर्ना दर र मृत्यु दर निकै कम हुने विदेशमा फैलिएको तथ्याङ्कले देखाएको छ, यदि नेपालमा सोही भाइरस फैलिहाल्यो भने पनि धेरै जनाले  खोप लगाइसकेकाले पहिलाको जस्तो अवस्था नहोला भन्ने हालसम्म यसको फैलावटबाट अनुमान गर्न सकिन्छ‚’ उनले भने।

ओमिक्रोन भेरिएन्टका सब भेरिएन्टहरू बिए पोइन्ट फोर र बिए पोइन्ट फाइभका कारण छिमेकी देश भारतलगायत अन्य मुलुकमा सङ्क्रमणदर बढ्दो क्रममा रहेको समेत डा पुनले बताए। केही समय अघिसम्म शून्य दशमलव ५ भन्दा मुनि झरेको नेपालको कोरोना  संक्रमणदर हाल ६ प्रतिशत पुगेको छ।

घाँटी दुख्ने र असहज हुने, थकान महसुस हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, शरीर हल्का तातिएको महसुस हुने‚ नाकबाट पानी आउने र बन्द हुने‚ ज्वरो आउने जस्ता लक्षण ओमिक्रोन भेरिएन्टमा देखिने गर्छ।

प्रकाशित मिति : सोमबार, असार २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij