काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।
बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए।
उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए।
उनले भने– ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भएबमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ। त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदैछ। त्यो हुँदा संसदभित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरु प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ।’
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए। उनले सकेसम्म सोमबार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे।
उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ।
उनले भने‚ ‘अब चाँडै समितिको बैठक बसाउने कार्यव्यवस्था परामर्श समितिमा त्यो निर्णय भएको छ। सकेसम्म भोलि नै समितिका बैठक प्रारम्भ गर्ने। जुन–जुन समितिमा विधेयक बसेका छन्। कमसेकम ती समितिका बैठक बसिहालौँ। विधेयकमाथिको छलफल शुरु गरिहालौँ। सँगसँगै समितिको नेतृत्वको चयनको कुरा अगाडि बढाउँ भन्ने कुरा भएको छ। अब हामीले सुनुवाइ समिति पनि तत्काल बनाउनु जरुरी छ किनभने प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्था छ। आज कार्यव्यवस्था परामर्श समितिमा पनि भोलि नै संघीय संसदको संयुक्त सदनको बैठक र समितिको कार्यसञ्चालनसम्बन्धी जुन नियमावली छ, त्यसलाई संशोधन गर्ने गरेर भोलि नै प्रश्ताव गरौँ। र त्यो नियम संशोधन गरेर तत्काल नै सुनुवाइ समिति बनाऔँ भन्ने पनि कुरा हो। प्रधानमन्त्रीले प्रत्यक्ष प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि आज कुराकानी भयो कार्यव्यवस्थामा। प्रश्नहरुको बाँडफाँट कसरी गर्ने भन्ने कुरा भएका छन्।’
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए। उनले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिनअगावै सभामुखकहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पार्नुभयो।
उनले भने– ‘इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने व्यवस्था छ। यसरी सोधिएको प्रश्नमा थप स्पष्टीकरण सोध्ने अभ्यास पनि छैन। नियमावलीमा पनि त्यो व्यवस्था छैन। ३ दिनअगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखज्युकोमा आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीज्युलाई गराइन्छ।’
उनले संसदीय समितिहरुको बैठक भोलि (सोमबार) नै बस्न सक्ने बताए।
प्रकाशित मिति : आइतबार, बैशाख ३१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्