काठमाण्डाै – देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी बिस्तारै घट्दै जाने उहाँको भनाइ छ । तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिबिधि बढ्न सक्ने उहाँले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा पनि हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिबिधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ ।
हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।
तातो हावाबाट बच्न घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्