बर्दिया – बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर गुलरियाका तीन जना बेपत्ता भएका छन् ।
आज आइतवार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाकाे पण्डितपुरका महेश चाैधरी बेपत्ता भएका बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मलबहादुर बोहोराले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेकाे उहाँले बताउनुभयाे ।
अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढ्न थालेको छ । हिजोदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकाे छ ।
जल तथा मौसम विज्ञान विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा दुई सय २६ दशमलव चार मिलिमिटर वर्षा भएकाे जनाएकाे छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा एक सय ७२ दशमलव आठ मिलिमिटर र सानोश्री चेपाङमा एक सय ७४ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
बर्दियामा सडक र सम्म परेका ठाउँहरू जलमग्न भएका छन् । स्थानीय खोलामा आएको बाढीले बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का धेरैजसाे गाउँहरू डुबानमा परेका छन् । बारबर्दिया–८ का वडाध्यक्ष नरबहादुर चन्दका अनुसार बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको छ । डुबान क्षेत्रका बासिन्दालाई उद्धार गरेर स्थानीय युवक माध्यमिक विद्यालय र जनज्योति विद्यालयमा राखिएको उहाँले बताउनुभयो । अहिले डुबान भएका ठाउँहरूको पानी घट्दो क्रममा रहेको भए पनि पानी लगातार परिरहेकाले सतर्कता अपनाइएको उहाँकाे भनाइ छ ।
यस्तै कर्णाली र बबई नदीलगायत स्थानीय खोलामा आकस्मिक बाढी आउने भएकाले आसपासका बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्