नवलपुरमा सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

नवलपुरमा सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा ‘नेपाल सर्प महोत्सव’ काे आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ नेपालमा नै पहिलाेपटक दुई दिने सर्प महोत्सवकाे आयाेजना गरिएकाे हाे ।

नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर, स्वास्थ्य कार्यालय नवलपुर, नेपाल रेडक्रस सोसाइटी र मध्यबिन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा सर्प महोत्सव आयाेजना गरिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताउनुभयो । ‘सर्पका बारेमा मानिसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको हो’, उहाँले भन्नुभयो ।

महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टल राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्नेबारेमा पनि जानकारी दिइने उहाँले बताउनुभयो ।

विशेषगरी गर्मीयाममा तराई भेगमा सर्पदंशका बिरामी बढ्ने र समयमा उपचार नपाउँदा ज्यान जाने गरेकाे छ । ‘सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्त्व बोकेको हुन्छ,सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अङ्ग हो’, उहाँले भन्नुभयो, ‘आफू पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको हो ।’

महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकी हाले के गर्नै भन्नेबारेमा महोत्सवमा प्रदर्शन गरिएको छ । विभिन्न सर्पका नाम उल्लेख गरी पोस्टर र तिनका विशेषताका बारेमा स्थानीय, विद्यार्थीलगायतलाई जानकारी गराइएको संरक्षणकर्मी देवकोटाले बताउनु भयाे ।

सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा छविलाल थापाले बताउनुभयो  । ‘इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्पजस्तै, गोमन, करेत र कोरल सर्प पर्छन्’, उहाँले भन्नुभयो, ‘२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनुहुँदैन ।’

समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट ज्यान जाने तथ्याङ्क पनि बढ्दो रहेको छ ।

नवलरपासी (बर्दघाट सुस्तापूर्व) मा यो वर्षमा मात्र विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरी २७ जना उपचारमा आएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा सामान्य सर्पले टोकेका एक सय ८५ पुरुष र एक सय ७७ महिला गरी तीन सय ७२ सङ्ख्या रहेको छ ।

पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भए पनि सर्प महोत्सव अवलोकन गरेपछि चिन्न सक्ने भएको महोत्सवमा सहभागी विद्यार्थी मुकेश रानाले बताउनुभयो । ‘पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थेँ, अहिले छाला हेरेर सर्प पहिचान गर्नसक्ने भएको छु’उहाँले भन्नुभयो, ‘सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु ।’

प्रकाशित मिति : सोमबार, भाद्र ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij