काठमाण्डाै – केही समयअघि ह्वारह्वार्ती बढेको डेङ्गीको सङ्क्रमण अहिले घट्दो क्रममा छ । ‘डेङ्गी फैलाउने लामखुट्टे नष्ट गर’ अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण केही घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार डेङ्गीको सङ्क्रमण सबैभन्दा धेरै फैलिएको चार जिल्ला सुनसरी, झापा, मोरङ र धादिङमा अहिले सङ्क्रमण फैलिने क्रम केही घटेको छ ।
‘यी जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । तर, केही दिन पहिलेको जस्तो अहिले सङ्क्रमण फैलिएको छैन’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले भन्नुभयो ।
उहाँका अनुसार अन्य जिल्लामा सङ्क्रमण स्थिर छ । सावधानी अपनाए डेङ्गीलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अझै दुई महिना डेङ्गीको जोखिम उच्च छ । डेङ्गी सङ्क्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ । लामखुट्टेको टोकाइबाट जोगिन सके डेङ्गीबाट बच्न सकिन्छ ।
डेङ्गी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले घर वरिपरि, कार्यस्थलमा पानी जमेको छ भने त्यसलाई फाल्नु पर्ने डाक्टर दाहालको सुझाव छ ।
यस्तै, शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गरे पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । देशभर २४ हजार जनालाई डेङ्गीको सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ । यस वर्ष डेङ्गीका कारण १४ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति : बिहिबार, भाद्र २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्