काठमाडौँ : सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलकाे फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौँबाट प्रस्थान गर्ने गरी भ्रमण स्वीकृत भएको उनले बताइन्। आउँदो मंसिर १ गते स्वदेश फिर्ता हुने भ्रमण तालिका छ।
बैठकका अन्य निर्णयहरू
सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकामा आयोजना हुने ‘१०औँ सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्सन’ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्ले चीनको सांघाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ बमोजिम समिति गठन गर्ने, युएईमा आयोजना हुने १८औँ एजुकेशन अफ द दुवै एयर शो २०२३ मा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ।
त्यस्तै सरकारले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ४.२९०४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका १२४ वटा रुखहरू हटाउन स्वीकृति दिएको छ।
बडीकेदार गाउँपालिका डोटीको प्रशासकीय भवन तथा १० शैयाको अस्पताल निर्माण गर्नका लागि राष्ट्रिय वनको १३.२ रोपनी जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित खम्बागाडे—पलौटे—विद्यापुर—गुट मायाताल सडकखण्डको स्तरोन्नतिको लागि राष्ट्रिय वन क्षेत्रको १४.५९ हेक्टर जग्गा प्रयोग गर्न दिन निर्णय पनि सरकारले गरेको छ।
सो जग्गामा रहेका विभिन्न प्रजातिका १,२९२ रुखहरू हटाउन स्वीकृति दिने, कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने द बेल्ट एण्ड रोड कन्फ्रेन्स अन साइन्स एण्ड टेक्नोलोजी एक्सचेञ्ज कार्यक्रममा सभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि भएको छ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्