बुटवल,
बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको छ ।
सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उदेश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको हो ।
अभियानअन्तरगत आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ ।
सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक पटक पत्राचार गरेपनि स्वतस्फुर्त टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाटबजार लाईनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस पार्क निर्माण गरिनेछ ।
यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरु हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए ।
यस्तै वडा नम्बर ६ र अरु वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ ।
बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्कहरु, चौतारीहरु, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा केही स्थानमा मोडेलका रुपमा केही चौतारीहरु निर्माण गरिनेछ र आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गरिनेछ ।
प्रकाशित मिति : आइतबार, पुष २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्