भैरहवा । तिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि समयसीमा तोकेको हो
प्रशासनले सूचना जारी गर्दै परम्परागत रूपमा खेलिने देउसीभैलो राति १० बजेभित्र सम्पन्न गर्न जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
प्रशासनले तिहारका बेला सर्वसाधारणलाई असर पर्ने गरी ठूलो आवाजमा साउन्ड सिस्टम तथा डिजे नबजाउन पनि आग्रह गरेको छ। ध्वनि प्रदूषण हुने गतिविधि नगर्न तथा भुइँचम्पा, पटका, आतसबाजीलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सूचनामार्फत सचेत गराइएको छ
त्यस्तै, चाडपर्वका अवसरमा मेला तथा महोत्सव आयोजना गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने जनाइएको छ। प्रचलित कानुनविपरीत मदिराको बिक्रीवितरण नगर्न र सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन प्रशासनले अनुरोध गरेको छ
तिहारका बेला जुवातास खेल्ने, खेलाउने तथा अन्य जुवाजन्य गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेका अनुसार प्रशासनको सूचनाविपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।
उनले चाडपर्वका समयमा चोरी तथा लुटपाटका घटना हुन सक्ने भएकाले घर, पसल तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षामा विशेष ध्यान दिन जिल्लावासीलाई आग्रह गरेका छन्।
घर तथा पसलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र शंकास्पद गतिविधि देखिए सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउनसमेत प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा सम्पूर्ण जिल्लावासीलाई शुभकामना दिँदै चाडपर्व आपसी सद्भाव, उल्लास र सुरक्षित वातावरणमा मनाउन आग्रह गरेको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्