बुटवल –सुनचाँदीका सामान बनाउने कालीगढ भन्नासाथ सामान्यतया काम गर्ने मानिस पुरुष हुन्छन् भन्ने सोचाइ आउँ किनभने, यस्ता काममा प्रायजसो पुरुषकै मात्र सहभागिता हुन्थ्यो । सुनचाँदीका गरगहना पुरुषले मात्रै गर्छन् भन्ने कुरा अब पुरानो भइसक्यो । अचेल महिलाहरु पनि यस्तो काममा पोख्त हुन थालिसकेका छन्।
महिलाले पनि सुनचाँदीको गरगहना बनाउने सीप सिकेर आफूलाई आत्मनिर्भर बनाउन थालेका छन्। महिला पनि गहना बनाउन र आयआर्जन गर्नको लागि सपना सजाउँदै काममा व्यस्त बनेका छन् । कुनै बेला चुलाचौकामै सीमित नेपाली महिलामा घरबाहिर निस्किएर काम गर्ने प्रवृत्ति बढेको छ ।
बुटवल उपमहानगरपालिका क्षेत्रभित्र १८२ को हाराहारीमा सुनचाँदी पसलहरू सञ्चालनमा रहेका छन् । तर पनि गहना बनाउने काम स्थानीय पुरुष वा भारतीय नागरिक कालीगढका रूपमा कार्यरत छन्। यसको लागि यहाँका स्थानीयलाई दक्ष जनशक्ति उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले नयाँ कामको थालनी गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १४ पदमपुर हरियाली पथकी ३२ वर्षीया लाल कुमारी बिक गहना बनाउने काम सिक्न पाउँदा खुसी छिन् । उनलाई आयआर्जन गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएकी छन् । उनी भन्छिन्, “हामी जस्ता घरमै बसेर केहि अवसरको खोजी गरिरहेका महिलालाई यस तालिमले एक अवसर प्रदान गरेको छ । हामी सीप सिकेर काम गर्छौँ आर्थिक उपार्जनमा जोडिन्छौँ ।”
महिलालाई आत्मनिर्भर बनाउन र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुनचाँदीका गहना बनाउने तालिमको आयोजना गरिएको हो । जहाँ बुटवलका युवा र महिलाहरुको सहभागिता रहेको छ ।
बुटवल देवीनगरकी ३१ वर्षिय पिपला स्वर्णकारका दुई सन्तान छन् । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढेको हुँदा सीप सिकेर स्वदेशमै आफ्नै परिवारसँगै बसेर केही गर्न सकिन्छ भनेर तालिम लिएको बताइन् । यसका साथै उनले यो व्यवसाय कला भएको भन्दै कला प्रष्फुटन गर्नको लागि यो तालिमले उनलाई यो पेसामा लाग्न सहयोग पुग्ने अपेक्षा गरेको बताउँछिन् । “तालिमबाट धेरै कुरा सिकिरहेकी छु” , उनले भनिन्, “रुचिको विषय भएर पनि होला सुनचाँदीका गहना बनाउन सक्ने भएँ ।’ उनको रूची र दक्षता खासगरी सुनचाँदीका सिक्री बनाउनेमा रहेछ ।”
“उनलाई अझै आधुनिक फेसनअनुसारको गहना बनाउने इच्छा छ”, भनिन्, “घर परिवारको पनि धेरै साथ पाएकी छु अब डिजाइनका गहना बनाउँन सिक्छु ।” ” सामान्यतया सिक्री बनाउन चार घण्टा र पोते उन्न दुई घण्टा लाग्ने उनले बताइन् । यो पेसा मलाई अत्यन्त रुचीको विषय भएकोले गर्व लाग्छ”, उनले भनिन्, “परिवारको खर्च जुटाउन सक्ने छु । यो सीपले घरमा मात्र सिमित हुन पर्ने छैन ।”
त्यस्तै बुटवलकै लक्ष्मी बिकले पनि अहिले यो तालिममा सहभागी भएकी छिन् । उनको अबको योजना सिकेको सीपलाई रोजगारीमा बदल्ने आफ्नो पहिलो लक्ष्य भएको बताइन् ।नेपालमा एकातिर बेरोजगारीको समस्या बढ्दो छ भने अर्कोतिर काम गर्ने दक्ष जनशक्तिको चर्को अभाव छ । उपलब्ध जनशक्तिलाई सीपयुक्त बनाउन हामी चुकिरहेका छौं ।
“घरपरिवारको जिम्मवारी पूरा गरेर कालीगढको काम सिक्नु सजिलो भने छैन’ उनले भनिन्, ‘तर पनि आँट गरेर सिक्दै छु । छोटो समयमा केही गहनाहरू बनाउन सक्ने भएँ ।” सुरुमा काम सिक्दा हात सुन्निएर हैरान भएको सम्झँदै उनले अब भने काम सिक्नमै रमाइलो लाग्न थालेकाले निरन्तरता दिने सुनाइन् ।
बुटवलकै सिवानी बिकको बुझाइ अनुसार आँखै अगाडि भएका अनेक सम्भावनालाई आर्थिक उपार्जनको पाटो बनाउन नसकिरहेको अवस्था र सोही कारण दिनहुँ सयौँ नेपाली विदेशिनु परेको छ।
तर, सयौं वा हजारौंले देखेर पनि वास्ता नगरेका थुप्रै विषयलाई व्यवसायिक बनाएर धेरैले राम्रो आर्थिक उपार्जन गरिरहेका छन्। यस्तै धेरै मध्यको एक विषय हो महिलालाई कारिगढ तालिम र यसबाट स्वरोजगार बन्ने धेरै युवाहरुको चाहानालाई मध्यनजर गरी तालिमको अवसर प्रदान गरेकोमा बुटवल उपमहानगरपालिका र बुटवल सुनचाँदी व्यवसायी संघलाई धन्यवाद ज्ञापन गरिन् ।
कम समय र थोरै परिश्रममा राम्रो आम्दानी गर्न सकिने पेसा भएकाले महिलाका लागि यस पेसा उपयुक्त हुने महिला कालीगढहरू बताउँछन् ।
सुनचाँदीको गहना बनाउने यो पेशामा बुटवल ११ देवीनगर बस्ने सविता सुनारले आफू यो काम अपनाएर फरक काम गरेकोमा गर्व लागेको बताउँछिन् । दलित समुदायमा पनि पुरुषले मात्र गर्ने काम भएकाले महिलाहरूले हत्तपत्त उक्त पेसा अपनाउन सकिरहेका थिएनन्। सविताले भनिन् “नेपाली समाजमा गहनाको डिजाइन र तयारी पुरुष कालिगढले गर्छन् अनि महिलाले बढी मात्रामा प्रयोग गर्छन् । मैले सोचें महिलाले लगाउने गहना महिलाले बनाउँदा झन् राम्रो होला भनेर यो पेसामा लागेको हो।” उनले सुनको गहना बनाउन थालेको १० वर्ष भयो। हाल उनले २० जनालाई प्रशिक्षक भएर सिकाइरहेकी छिन् ।
उनको यो लगाव मेहनत र सफलतालाई अन्य महिलाहरुले पनि अनुशरण गरिरहेका छन् ।
बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले दक्ष कालिगढ बन्न सके राम्रो आर्यआर्जन गर्न सकिने उदेश्यले ‘लक्षित वर्गका लागि तालिमको आयोजना गरेको बताए ।
बुटवल उपमहानगरपाविका सावित्रादेवी अर्यालले नयाँ पुस्ता र महिलालाई तालिम दिएर हाम्रो मौलिक पेसाका रूपमा रहेको ‘सुनचाँदी व्यवसायको विस्तार गर्न पाइला सार्ने बेला आएको बताइन्।
उपप्रमुख अर्यालले सुनचाँदी व्यवसायमा महिलाहरुलाई सीपयुक्त बनाउन सकेको खण्डमा स्वदेशमा रोजगारको व्यवस्था पनि हुने र आयआर्जनको ग्यारेन्टी पनि हुने धारणा व्यक्त गरिन् ।
उनले भनिन् “सुनचाँदी व्यवसाय मात्र नभएर बुटवलको मौलिक पेसा र पहिचान हो। यसर्थ पनि यसलाई व्यवसायका रूपमा अगाडि लैजान र आर्थिक
रुपमा सबल हुनको लागि समयसमयमा प्रशिक्षण एवं तालिम सञ्चालन गर्न आवश्यक छ।”
बजारमा केको महत्व छ, केको माग धेरै छ, त्यस आधारमा प्रशिक्षण एवं तालिम कार्यक्रम सञ्चालन गरिरहन सके अझ धेरै फाइदा र प्रभावकारी हुने उपप्रमुख अर्यालले बताइन्।
उनले भनिन्, “नगरपालिकाले दिने तालिम सीपमूलक, आयमूलक, रोजगारीमूलक सँगसँंगै बुटवलको मौलिकतासँग जोड्ने हाम्रो उद्देश्य रहेको छ। त्यो उद्देश्य पूरा गर्नका लागि सुनचाँदी व्यवसायी संघसँग सहकार्य गरेका छौं।”
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई समृद्ध बनाउन नगरका हरेक समुदायलाई सीपयुक्त बनाउन जरुरी रहेकोले त्यसमा विशेष ध्यान दिएको धारणा राखे ।
उनले सुनचाँदी व्यवसायमा स्वदेशी कारीगढहरुको अभाव हुँदा ठूलो संख्यामा विदेशी कारीगढहरुमार्फत पैसा विदेश गएको उल्लेख गर्दै त्यसलाई मनन गरेर स्थानीय सरकारले स्वदेशमै कालीगढ उत्पादनमा जोड दिएको बताए । उनी भन्छन्, सुनचाँदी व्यवसायीका लागी कालिगढ तालिम महिला दिदी बहिनीहरुलाई उपलब्ध गराएका छौँ ।
हुन त लक्षित वर्गको दलित समुदायका विभिन्न खालका कार्यक्रमहरु हामीले सञ्चालन गरेका छौं । कालिगढको हकमा भारतको बंगालबाट कालिगढहरु बुटवलमा आएका र नेपाली कालिगडको संख्या न्युन हुँदै गएको रोजगारीमा उनीहरुको पहुँच धेरै भएको र यस क्षेत्रमा सीप नभएकोले स्थानीय पँहुच कम भएको हुँदा महिलाहरुलाई आत्म निर्भर बनाउन र यहाँका महिलाहरुलाई रोजगारीसँग जोड्नको लागि तालिमको आयोजना गरेका हौें ।
पहिला यस्ता तालिम पुरुषको मात्रै हुने गरेको मा अब महिलाहरुको लागि आयोजना गरिएको बताए । उनका अनुसार महिलाहरु सीपसँग जोडिने आत्मनिर्भर हुने र बाह्य कालीगढहरु बिस्पथापित हुने र यहाँका युवाहरु स्वरोजगार हुने भएकोले यस्तो कार्यक्रमको आयोजना भएको हो । “नगरपालिकाले यो पटक २० जनालाई प्रारम्भिक चरणमा राखेको छ । भोलिका दिनमा कतिको चासो हुन्छ , त्यही अनुसार संख्या वृद्धि हुदै जानेछ ।’”
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल सुनचाँदी व्यवसायी संघ, रुपन्देहीको आयोजनामा तालिममा मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्ने तालिम भइरहेको छ । बुटवल सुनचाँदी व्यवसायी संघको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहयोगमा फागुन १४ गते सोमबार बाट सुरु तालिम सुरु भएको थियो। तालिममा बुटवल उपमहानगरपालिकाका १९ वडाबाट तालिममा १६ महिला र ४ पुरुष गरि २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
बुटवल उपमहानगरपालिकाले नगरलाई महिलामैत्री उपमहानगरपालिकाको रूपमा स्थापित गराउने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन , २०७४ को दफा १०२ को ९२० बमोजिम उपप्रमुख उद्यमशीलता कार्यक्रम सञ्चालन कार्यविधि २०७५ भनी जारी गरेको छ । यसरी कार्यविधि नै जारी गरी नगरले विभिन्न समयमा विभिन्न तालिम र कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यक, लोपोन्मुख समुदाय, असहाय, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समाजमा पछाडि पारिएका व्यक्ति वा समुदायलाई मूल प्रवाहमा ल्याउने गरी क्षमता विकासको कार्यक्रम तय गरेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्