काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको कारबाही असंवैधानिक रहेको भन्दै डाक्टर मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । आफूलाई महामन्त्रीबाट हटाउनेसहितका कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको ढकालको दाबी छ ।
रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएमा त्यसलाई कार्यान्वयन नगर्नसमेत ढकालले आयाेगलाई आग्रह गर्नुभएको छ । पार्टीको अनुशासन विपरीतको काम गरेको भन्दै रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उहाँको दाबी छ ।
यस्तै पार्टीले आफूलाई सफाइ पेश गर्ने मौकासमेत नदिएर गरेको कारबाही पूर्वाग्रही र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको ढकालको दाबी छ । यस्तै रास्वपाको बैठक सञ्चालन कार्यविधिमा महामन्त्रीले बैठक सञ्चालन गर्ने उल्लेख रहेको र आफूले कुनै पनि केन्द्रीय समिति सदस्य वा पदाधिकारीलाई बैठक सञ्चालनको अनुमति नदिएकाले आफ्नो अनुमति वा उपस्थितिविना बसेर गरिएको कारबाही स्वतः गैरकानुनी रहेको पनि ढकालको जिकिर छ ।
सबै कानुनी र व्यावहारिक विषय हेर्दा आफूमाथि गरिएको कारबाही पूर्वाग्रही, विधि, विधान र प्रक्रिया विपरीत रहेकोले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्णय अद्यावधिक गर्न आएमा त्यसलाई अद्यावधिक नगर्न मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
प्रकाशित मिति : आइतबार, साउन १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्