रुपन्देही,
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने २ कार्तिकदेखि कास्की प्रहरीको हिरासतमा छन्। कास्कीमा लामिछानेमाथि अनुसन्धान गर्न दुईपटक म्याद थप गरिसकेको छ। तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन्।
ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई थप अनुसन्धानकै लागि रुपन्देही ल्याउने तयारी गरिएको छ। पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएको जनाइएको छ। यद्यपि मंगलबार नै पठाउने वा छठसम्मका लागि म्याद थपेर पोखरामै अनुसन्धान गर्ने भन्नेमा भने प्रहरी निष्कर्षमा पुगेको छैन।
रुपन्देही प्रहरीका अनुसार कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रुपन्देही ल्याएर अनुसन्धान गर्न हुने प्रहरीको भनाइ छ।
रुपन्देही जिल्ला अदालतले गत कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कका लगेर खर्च गरेको कसुरमा लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन्। उनको भने यसअघि नै बुटवल ल्याएर बयान लिएर कास्की नै फर्काइएको छ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ।
प्रकाशित मिति : सोमबार, कार्तिक १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्