बुटवल,प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा आउँदै छन्। उनी बिहान ११ बजे यहाँ आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताए।
प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेछन्।
सुरुङ मार्ग एक हजार १२६ मिटर लामो छ। ब्रेक थ्रु गर्नका लागि एक मिटर राखिएको छ। रिमोटको सहायताले प्रधानमन्त्रीले बाँकी रहेको भागको ब्लास्ट गरेर ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए।
सुरुङ निर्माणको काम गतवर्ष माघ ४ गतेबाट शुरु भएको थियो । पाँच वर्षमा निर्माणकार्य सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको थियो। सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँ लागतमा निर्माणकार्य भइरहेको हो। सुरुङको पूर्णरूपमा निर्माणकार्य आगामी २०८३ चैत मसान्तसम्म सम्पन्न हुने अधिकारीले बताए।
२०७८ फागुनमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। कम्पनीले २०७९ सालको अन्तिमबाट सुरुङ खन्ने कामको थालनी गरेको थियो। आयोजना प्रमुख अधिकारीका अनुसार सुरुङमार्गका तीनवटै बाइपास सुरुङ ब्रेक थ्रु भइसकेका छन्।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा यो सुरुङलाई अगाडि सारेको छ। यो मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत गर्न सहजहुने आशा गरिएको छ।
सुरुङमार्ग ब्रेक थ्रु गर्नुअघि प्रधानमन्त्री ओलीले पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ सुवेदीले बताए।
पाल्पामा कार्यक्रम सकिएपछि उनले रूपन्देहीको बुटवलस्थित जितगढीमा बुटवल गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्