काठमाडौँ – नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको अध्यादेशबारे पार्टीका सांसदहरूसँग कुनै छलफल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उनीहरूले पार्टीका तर्फबाट मन्त्री भएकाहरूले पनि सांसदहरूसँग कुनै छलफल गर्ने नगरेको गुनासो गरेका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले बजेट कार्यान्वयनका सवालमा समेत प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दोस्रो दिनको बैठकमा १७ जना सांसदले गम्भीर प्रश्नहरू उठाएको बताए ।
‘संसद् अधिवेशन, अध्यादेश, बजेट लगायतलाई लिएर आज सांसदहरूले प्रश्न उठाउनुभएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै घिमिरेले भने, ‘अत्यन्त महत्त्वपूर्ण र गम्भीर विचार माननीय सदस्यबाट आएको छ । बोल्ने क्रम जारी नै छ । ’
उनले सांसदहरू बोल्न बाँकी रहेकाले १८ गते बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको बताए । सांसद रामहरि खतिवडाले अधिकांश सांसदले मन्त्रीहरूलाई राम्रोसँग काम गर्न आग्रह गरेको बताए । उनले अध्यादेश ल्याउँदा सांसदहरूसँग छलफल नगरेकोमा समेत प्रश्न गरेको बताए ।
उनीहरूको कुरा सुनेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई आगामी दिनमा सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।
प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्