देवदह , राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीभित्र कुनै गुट नभएको दाबी गर्नु भएको छ । रास्वपाको केन्द्रदेखि वडासम्म एउटै गुट भएको जिकिर गर्दै उहाँले अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने दावी गर्नुभयो ।
शनिबार रुपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै सभापति अर्यालले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको स्पष्ट पार्नुभयो । उहाँले रविलाई ठुला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको भन्दै अर्यालले उहाँको ठाउँमा आफूले केही समय कार्यवाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । उहाँले जुन अभियान लिएर हिँड्नुभयो, त्यसमा हामी सबै एकबद्ध छौँ ।’ उहाँले पार्टी सभापति अप्ठ्यारोमा परेको बेला पार्टीलाई जोगाउन सबैलाई एक ढिक्का राख्ने जिम्मेवारीमा आएको बताउनुभयो । उहाँले रविले जनता समस्याहरू उठाउन थालेपछि एकपछि अर्को उचाइ लिएको ठुला दलहरू मन नपरेका कारणले सहकारी मुद्दामा डुलाएको आरोप लगाउनुभयो । उहाँले रविलाई जति डुलाए पनि केही फरक नपर्ने बताउनुभयो ।
उहाँले युवाहरूलाई विदेश जान बाध्य पार्ने पनि यिनै दलहरू भएको आरोप लगाउनुभयो । उहाँले विकास निर्माण सुस्त भएको तथा जनताको समस्याहरू समाधान गर्ने तर्फ दलहरू ध्यान नदिएको उल्लेख गर्दै जनतामा चरम निराश हुने काम सरकारले गरेको बताउनुभयो । उहाले बुटवल–नारायणगढ सडक २ वर्ष बन्नु पर्नेमा ८–१० वर्षसम्म ढिलाइ गर्दा त्यसले जनतालाई परेको असरको क्षतिपूर्ति कसले दिने प्रश्न गर्नुभयो । उहाँले दलहरू आफैँमा खराब नभए पनि दलको नेतृत्व गर्नेहरूको गलत कामले गर्दा मुलुक अगाडी बढ्न नसकेको बताउनुभयो । अर्यालले रास्वपाले अब जनताको एजेन्डालाई साथ लिएर केन्द्रदेखि वडासम्म काम गर्ने प्रतिबद्धता जनाउनुभयो । रास्वपा आगामी निर्वाचनमा एउटा ठुलो शक्ति भएर आउने जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभापति देवराज पाठकले पछिल्लो समयमा जनातामा देखिएको निराशालाई चिर्नकालागि रास्वपाको उदय भएको उल्लेख गर्दै नागरिकको भरोसाको पार्टीका रुपमा रास्वपाले काम गर्ने आश्वासन दिनुभयो । उहाँले नेपालका पुराना र ठुला भनिएका पार्टीहरुले निराशामात्र दिएको बताउदै नयाँ धार र युवाहरुको जमातले बनेको रास्वपाको उदयले ठुला दलहरु त्रसित भएको उल्लेख गर्नुभयो ।
देवदह नगर सभापति मेघनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रदेश उपसभापति शालिकराम घिमिरे, प्रदेश सल्लाहकार विनोद खरेल, मित्रबहादुर कुवँर, जिल्ला सदस्य बिष्णुप्रसाद पौडेल, नवप्रवेशी धर्मराज पौडेल, भिमलाल काफ्लेलगायतले आआफ्ना भनाई राख्दै पार्टीलाई बलियो बनाउन सबैले आआफ्नो भुमिका निभाउनु पर्ने बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्