दुवै सदनबाट पारित भएसँगै ५ वटा अध्यादेश कानून बन्ने बाटो खुल्यो

दुवै सदनबाट पारित भएसँगै ५ वटा अध्यादेश कानून बन्ने बाटो खुल्यो

काठमाण्डाै – सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच वटा प्रतिस्थापन विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका छन् ।

प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच वटा प्रतिस्थापन विधेयक आज एकैदिन राष्ट्रियसभाबाट पारित भए । यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित पठाएका ती विधेयक आजै प्रतिनिधिसभाको दोस्रो बैठकले पारित गरेसँगै अध्यादेश कानून बन्ने बाटो खुलेको छ ।

अब सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुहुने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कानून बन्नेछन् । आज पनि राष्ट्रियसभाबाट प्रतिस्थापन विधेयक पारित नभएको भए अध्यादेशहरू निष्क्रिय हुने थिए । संविधानमा सरकारले ल्याएको कुनै पनि अध्यादेश लगत्तैको सङ्घीय संसद्को अधिवेशन शुरू भएको दुई महिनाभित्र पारित गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभाले चैत ४ गते र ६ गते दुई दिनमा पाँच वटा अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो । तर राष्ट्रियसभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पहिलो पटक विधेयकमा तीन महले नभएको भन्दै रोकेको थियो । दोस्रो पटक विधेयकका नाममा प्रतिस्थापन उल्लेख नभएको भन्दै नियमापत्तिमार्फत् बैठक रोकेको थियो । त्यसयता पाँच दिन कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाएको विषयमा विरोध स्वरूप प्रतिपक्षी दलहरूले राष्ट्रियसभा अवरुद्ध गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभामा सम्बोधन गरेपछि चलेको बैठकले पाँच वटै प्रतिस्थापन विधेयक पारित गरेको हो । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ राष्ट्रियसभाबाट जस्ताको तस्तै पारित भएको हो ।

संसद् नचलेका बेला सरकारले ल्याएका ६ वटा विधेयकमध्ये भूमिसम्बन्धी विधेयक भने आजदेखि निष्क्रिय भएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij